विराटनगर, १४ असार
नोबेल मेडिकल कलेजका प्रशिक्षार्थी चिकित्सकहरुले कलेज प्रशासनले जर्वजस्ती कलेज र अस्पताल बन्द गराएको भन्दै बिरोध जनाएका छन् । अस्पतालबाट भइरहेको शोषणको विरुद्धमा आन्दोलन गरिरहेका चिकित्सकहरुले मिल्न लागेको बार्तासमेत भाँडेर कलेज प्रशासनले निहुँ खोजेको भन्दै अब माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
चौध दिनदेखि आन्दोलन गरिरहेका प्रशिक्षार्थी चिकित्सकहरुको समर्थनमा त्यहाँ कार्यरत डाक्टरहरु र बिद्यार्थीहरुले समर्थन गरेपछि कलेज सञ्चालक उत्तेजित बनेको हो । त्यसको प्रतिरोधमा कलेज प्रशासन गुण्डागर्दी शैलीमा होष्टलबाट बिद्यार्थी हटाउने, अस्पतालबाट जबरजस्ती बिरामी निकाल्ने र आन्दोलनकारीलाई डर धम्की दिने काममा सक्रिय भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
मेडिकल कलेज भर्ना हुँदा पाँच बर्ष ६ महिनाको शूल्क बुझाएका बिद्यार्थीहरुले चार बर्ष ६ महिना अध्ययन गरी उतिर्णभएपछि प्रशिक्षार्थी चिकित्सकको प्रमाणपत्र पाउँछन् । त्यस्ता चिकित्सकले एकबर्ष इन्टर्न गर्नुपर्ने हुन्छ । साँढे ४ बर्षको रकम बुझाएकाहरुले थप रकम तिरेर इन्टर्न गर्नुपर्ने हुन्छ भने ६६ महिनाको शूल्क तिरेका बिद्यार्थीले इन्टर्न थालेपछि पारिश्रमिक दिनु पर्दछ । नोबेलले त्यसैमा बेइमानी गरेको आन्दोलनकारी बिद्यार्थी गणेश फुलाराले जानकारी दिनुभयो । उहाँले भर्ना हुदाँ तिरेको सेक्युरिटी शूल्क फिर्ता गर्नुपर्ने पनि बताउनुभयो ।
कलेजले बिद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको, सर्टिफिकेटमा खराव बानी भएको उल्लेख गरिदिने धम्कि दिने गरेको र सर्टिफिकेट नै नदिने चेतावनीले त्रास बढाएको उनीहरुले बताएका छन् ।
आन्दोलनकारी चिकित्सकहरुले चौरमा ओपिडी सेवा प्रदान गर्ने र धर्ना कार्यलाई जारी राख्ने बताएका छन् ।
यस्तै कार्यरत चिकित्सकहरुले पनि नोबेल मेडिकल कलेजले तीन महिनादेखि पारिश्रमिक नदिएको भन्दै पारिश्रमिक दिन माग गरेका छन् । उनीहरुले क्याम्पस सञ्चालकलाई वार्तामा आउन पनि भनेका छन् । शिक्षा मन्त्रालयबाट वार्ताकालागि भएको पहलमा विश्वासको संकट देखिएको भन्दै मन्त्रालयमा वार्तामा नबस्ने अडान लिएका छन् ।