विराटनगर, २० असार : काम लगाइदिने बहानामा युवतीहरुलाई विदेशमा लगेर बिक्री गर्ने गिरोहका मुख्य नाइकेलाई मोरङ प्रहरीले पक्राउ गरी आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी–८ घर भई ललितपुरस्थित ठेचुमा डेरा गरी बस्ने मोटी भनिने ३२ वर्षीया शान्ता लिम्बू रहेकी छन् । महाभूकम्पपछि जोगबनी नाकाबाट ५ जना महिला तथा बालबालिकाहरुलाई बिक्रीका लागि लैजान खोजेको घटनामा लिम्बूको मुख्य संलग्नता रहेको पाइएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले बताउनुभयो । पक्राउ परेकी लिम्बूमाथि मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी मुद्दा चलाइएको उहाँले बताउनुभयो । मोरङ, कञ्चनपुर, म्याग्दी, उदयपुर तथा सप्तरीका युवतीहरुलाई लिम्बूले जोगबनी नाकाबाट दिल्ली हुँदै कुवेत लैजान खोजेकोमा प्रहरी र विभिन्न संघसंस्थाले जोगबनी नाकाबाट एक महिनाअघि उद्धार गरेको थियो । यसैबीच, पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७१÷७२ को हालसम्म सीमा क्षेत्रबाट भारततर्फ लैजान लागेका १ सय ४६ जनालाई उद्धार गरेको लम्सालले जानकारी दिनुभयो ।
makalu