आज लुतो फाल्ने दिन

<span class='c1'>आज लुतो</span> <span class='c2'>फाल्ने दिन</span>

 

उर्लाबारी, १ साउन । लुतो फाल्ने पर्व साउने सङ्क्रान्ति आज शुक्रबार मनाइँदैछ । सौर्यमान्अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले शुक्रबारको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ ।

कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।

यसैदिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्मादि रोगबाट जोगिन लुतो फाल्ने प्रचलनस्वरुप यो पर्व मनाउन थालिएको हो ।

प्राचीन प्रचलनअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो आदि औषधीय वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।

पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याक्ने संस्कृृति मनाउने गरिएको छ । कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरजस्ता केही धार्मिंक तीर्थस्थलमा सामाजिक रुपमा लुतो फाल्ने प्रचलन हालसम्म कायमै छ ।

महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकाले सोमबारको व्रतको महत्व छ । साउन महिना जताततै हरियाली हुने भएका कारण पनि हरिया चुरासहित श्रृङ्गारका समान पहिरिनु प्रकृतिसम्मत प्रचलन हुनसक्ने अध्यक्ष गौतमको भनाइ छ । साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको अत्याधिक भिड लाग्छ ।

शाकाहारी साउन अभियान
नेपाल शाकाहारी सङ्घले साउन महिनाभरि शाकाहारी भोजन गरेर ‘शाकाहारी साउन अभियान’ सफल बनाउन आग्रह गरेको छ । शाकाहारी हुँदा स्वास्थ्य, धर्म, अध्यात्म, नैतिकता, करुणा बढ्ने र जलवायु परिवर्तन जस्तो डरलाग्दो विश्वप्रकोपबाट बच्नसमेत सम्भव हुने जनाइएको छ ।

साउन महिना रोपाइँ र अन्य कृषिजन्य क्रियाकलापमा किसान व्यस्त भइ थकित हुने समय भएकाले यस समयमा सकेसम्म सरल र पच्ने भोजन गर्नु अत्यावश्यक रहेको सङ्घले जनाएको छ । यस समयमा रोग लाग्ने बढी सम्भावना भएकाले मासु, लसुनजस्ता खाद्य पदार्थ नखान सङ्घका अध्यक्ष कृष्ण गुरुङले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्