विराटनगर । भारतमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढीरहेको बेला यता विराटनगरमा पनि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । आज मात्रै विराटनगरमा ९० जनामा कोरोना पुष्टी भएको छ भने प्रदेश नम्बर १ मा २०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । विराटनगरको बजारमा अझै पनि स्वास्थ्य मन्त्रालयले तोकेका स्वास्थ्य मापदण्ड पुरा नगरी हिड्ने भेटिने गरेका छन् ।
मास्क कोरोना भाइरसबाट जोगिने एउटा उपयुक्त साधन भएका कारण स्वास्थ्यकर्मीहरुले मास्क अनिवार्य लगाउन आग्रह गरेको छन् । यता मास्क नलगाई हिड्नेहरुलाई विराटनगरको बजारमा तपाईको मास्क खोई कार्यक्रम अभियान सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर, स्काउट, सामाजिक अभियान्ता सहितको टोलीले सोमबार विराटनगरको बजारमा तपाईको मास्क खोई अभियान सुरु गरेका हुन् ।
विश्वभर फैलिरहेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागी सवारी चालक तथा पैदल यात्रुहरुलाई अनिवार्य मास्क लगाउन जनचेतना मुलक अभियान थालेका छन् । विराटनगरको जलजला चौकबाट सुरु गरी बजार परिक्रममा गर्दै पुरानो गुद्री बजार हुदै हनुमान मन्दिर सम्म पुगेर यात्रुहरु तथा आम सर्वसाधरणहरुलाई मास्क लगाउन पहल गरिहेका थिए ।
भारतमा तिव्ररुपमा कोरोना संक्रमितको संख्या बढीरहेको बेला यता विराटनगरमा यसको जोखिम हुने भएका कारण मास्क नलगाउनेहरुका लागी मास्क अनिवार्य रुपमा मास्क लगाउनको लागी जनचेतना मुलक सन्देश प्रवाह गरिएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक दिपक कुमार कार्कीले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने तीनदिनदेखी मास्क अनिवार्य रुपमा लगाउने अभियान थालेको ट्राफिक प्रमुख चन्द्रप्रसाद खड्काले बताउनुभयो । ३ दिन यता अधिकासले मास्क अनिवार्य रुपमा लगाउन थालेको र नलगाउनेलाई अनिवार्य गरिएको खड्काको भनाई छ ।
कोरोना भाईरसका कारण बजारमा मास्क नलगाई हिड्नेहरुको लागी गत बर्षदेखी नै तपाईको मास्क खोई अभियान गर्दै आएकोे सामाजिक युवा अभियान्ता पेरिस सुवेदीले बताए । कोरोना भाईरस अझै पनि निस्तेज नभएका कारण पछिल्लो समय झनै संक्रमितको संख्या बढीरहेको बेला बजारमा मास्क नलगाई हिड्नेहरुलाई तपाईको मास्क खोई अभियान पुनःथालनी गरिएको सुवेदीले बताउनुभयो । मास्क खोई अभियनको लागी विराटनगरका युवा व्यावसायी तथा सामाजिक अभियान्ता भवेश पौडेल मास्क सहयोग गरेका थिए ।