तिम्रो शहरको
नामुद चौकको बीचमा
ठिङ्ग उभिएर
नाङ्गिन मन छ मलाई
तिमीहरुले तोकिदिएको लाज छोपेका
तिम्रै अनुशासनका लुगाहरू च्यातेर
वेस्सरी चिच्याउँदै भन्न मन छ;
"हेर...म भर्खरै मान्छे भएको छु ।"
तिमीहरूले
भरिदिएका डर
कोरिदिएका सिमाना
उभ्याईदिएका पर्खाल
रोपिदिएका स्वार्थ
र तोकिदिएका मर्यादाले
मलाई कहिल्यै मानिस हुन दिएनन् ।
म
भत्किसक्दा पनि झर्न दिएनन्
उक्लिसक्दा पनि चढ्न दिएनन्
दौडिसक्दा पनि वढ्न दिएनन्
पौडिसक्दा पनि तर्न दिएनन् ।
शिशिर ऋतुको एक विहान
मेरो फूलवारीमा
फुलिरहेको फूलमा आएर तिम्रो निरङ्कुशता गन्हायो
वसन्त ऋतुको एक साँझ
आगनमा खेलिरहेका गौँथलीहरू नजिकै पुगेर कुनै अदृश्य पिँजडा चहर्याँयो ।
फूल अश्लिल थिएन
गौँथली अराजक थिएन
वगैचा वेश्यालय थिएन
आगन रणभुुमी थिएन
तिम्रो हातमा पनि त छुरी थिएन
थियो त केवल भ्रम थियो
तिम्रो अनुहार मान्छेको जस्तै थियो ।
तिमीलेे मेरो एक टुक्रा हाँसोको हिसाव खोज्यौ
एक निन्द्रा ओछ्यानको
सपना माग्यौ
एक पाईला वाटोको
गन्तव्य चोर्यौ
एक छाँया धर्तीको
सिमाना कोर्यौ
म त तयार थिए
एक मुटु माँयाको
घडेरी किन्न
तर तिमीले
लाजै नमानी
एक मुठी सासको
वैना माग्यौ ।
त्यसपछि
म सिधै तिम्रो यो नामुद चौकमा आईपुँगेको छु
अब मलाई यहिँवाट मान्छे भएर
विश्वको नक्सा मेट्न जानु छ
कोहि छ म सँगै जाने??