बनेपा
जिल्लाको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिकालाई कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । सो गाउँपालिकाको वडा नं ७ मादनकुँडारी निवासी समाजसेवी कुलबहादुर लामा र एलबी लामाको सक्रियतामा उक्त सामग्री उपलब्ध गराइएको हो ।
गाउँपालिका कार्यालयमा नै पुगेर शुक्रबार पालिका अध्यक्ष दिननाथ गौतमलाई पाँच÷पाँच लिटरका तीन थान अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरियो । अक्सिजन अभावका कारण सङ्क्रमितको मृत्यु सम्म हुनसक्ने अवस्था गाउँपालिकामा सिर्जना नहोस् भन्ने उद्देश्यले उक्त सामग्री सहयोग गरेको समाजसेवी कुलबहादुरले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गौतमले विषम परिस्थितिमा प्राप्त स्वास्थ्य सामग्रीले गाउँपालिकाले गर्दै आएको कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा थप सहयोग पुग्ने बताउनुभयो । उक्त सामग्री धुसेनी शिवालय प्राथमिक अस्पतालमा प्रयोग गरिनेछ ।
गाउँपालिकाले सङ्क्रमित व्यक्तिको उपचारका लागि तीन ठाउँमा गरी १८ शय्याको अक्सिजन सिलिण्डरसहितको आइसोलेसन केन्द्र व्यवस्थापन गरिसकेको छ । गाउँपालिका अध्यक्ष गौतमका अनुसार गाउँपालिकाले वडा नं ५ को धुसेनी शिवालय प्राथमिक अस्पतालमा १० शय्या, वडा नं २ मा रहेको डिसीडब्लुसी अस्पतालमा पाँच शय्या र वडा नं ३ को सलम्बुमा रहेको धुलिखेल अस्पतालको आउटरिच केन्द्रमा तीन शय्याको आइसोलेशन कक्ष व्यवस्थापन गरेको हो ।
त्यससँगै गाउँपालिकासँगको समन्वयमा पालिकाभित्रमा कोभिड–१९ विरुद्धमा सचेतना फैलाउन स्वायंमसेवी समूह नै गठन गरेर काम गरिरहेको छ । सो समूहले गाउँपालिकाको प्रत्यक्ष मातहतमा रही स्थानीय युवाहरुको सक्रियतामा सचेतनाका विभिन्न गतिविधि सञ्चालन गर्नुको साथै कोभिड–१९ सङ्क्रमण रोकथाम, उपचार अभियानलाई सहयोग गर्दै आइरहेको छ ।-