धरान । सुनसरी धरान उपमहानगरपालिका २ रत्नरोड स्थितबाट प्रहरीले एम्बुलेन्सबाट एकसय केजी गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको को१च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा सोमबार राती एकसय केजी गाँजा फेला पारेर बरामद गरेको हो ।
एम्बुलेन्सको पछाडीको भागमा २५÷२५ केजीको ४ वटा झोलामा लागूऔषध गाँजा बरामद गरेको गरिएको प्रदेश प्रहरी कार्यालय रानी विराटनगरले जानकारी दिइएको छ ।
बरामद गरिएको गाँजा सहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बल बहादुर लिम्बु र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान ११ बस्ने २८ बर्षीय पोशन राईलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
कोरोना संक्रमणको जोखिममा संक्रमित बोक्नुपर्ने एम्बुलेन्सका चालक भने गाँजा तस्करीमा लागेका हुन् । प्रहरीले गाँजा कसको हो भन्ने विषयमा गहिरो अनुसन्धान थालेको छ ।