आफ्नै मासुको डल्लोले थिचियो रामको जिन्दगी

<span class='c1'>आफ्नै मासुको डल्लोले</span> <span class='c2'>थिचियो रामको जिन्दगी</span>

 

एकातिर निको नहुने रोग, अर्कातिर परिवारमा चरम गरिबी । बर्षाैदेखि यस्तै समस्यासँग जुधिरहेका छन् मोरङ सुन्दरदुलारी-१ गोठगाउँका २३ बर्षीय राम कार्की ।

उनी जन्मिँदा गर्धनमा सानो मासुको डल्लो थियो । तर, अहिले बढ्दो उमेरसँगै मासुको डल्लो शरीरले थाम्नै नसक्ने गरी बढ्दै गएको छ ।
‘पहिले त सानो थियो । अहिले त बढेर यति ठूलो भैसक्यो,’ कार्कीले अनलाइनखबरसँग भने, ‘सुत्न, लुगा लगाउन, हिँड्डुल गर्न निकै अप्ठ्यारो हुने गरेको छ । घाँटीको छाला तन्किएर बोल्न समेत असजिलो हुन्छ ।’
उनको शारीरिक अवस्थाले परिवारमा समेत ठूलो चिन्ता छाएको छ । हुन त परिवारले उपचारको कोशिस नगरेको पनि होइन । बाबुआमाले उनलाई धरान, बिराटनगरदेखि काठमाडौंका सुविधासम्पन्न अस्पतालमा पुर्‍याए । लाखौं रुपैयाँ खर्च गरे, तर सबै डाक्टरले उनको उपचार सम्भव नभएको भनेर फर्काइदिएको कार्की परिवार बताउँछ ।
‘छोराको उपचारका लागि शहरका ठूला नाम चलेका अस्पताल लिएर गयौं, तर डाक्टरसा’बले उपचार सम्भव छैन भनी फर्काइदिए,’ रामकी आमा उमाले भनिन् ‘गरिवीले दुई छाक टार्न गाह्रो छ, छोरालाई यस्तो बिराम लाग्यो । तैपनि उसले काम गरिरहनुपरेको छ ।’

डाक्टरहरुले छोराको उपचार गर्न नसक्ने बताएपछि उमाले अहिले आफ्नो भाग्यलाई धिक्कार्दै छिन् । ‘डाक्टरले समेत रोग निको पार्न नसक्ने हामी दुखियाको भाग्य नै यस्तै रहेछ,’ उनले भनिन् ।
अन्धविश्वले पढाइ छाड्न बाध्य
धनकुटा लेगुवा १ मा बसोबास गर्दै आएको कार्की परिवार ६ बर्ष अघि तराई झरेको थियो । तराई झर्नुअघि राम स्थानीय कालिका प्राविमा कक्षा ४ मा पढ्दै थिए ।
तर, अस्वाभाविकरुपमा गर्धनमा मासु पलाएको देखेर विद्यालयका प्रधानाध्यापकले अरु विद्यार्थीहरुलाई पनि असर पर्ने भन्दै निको नभएसम्म स्कुल नआउनू भनेपछि पढाइ छाड्न बाध्य भएको रामले बताए ।
‘रोग त लाग्यो लाग्यो, यही रोगका कारण पढाइ पनि छाड्न पर्‍यो,’ रामले भने ।
उनी अहिले गोठगाउँस्थित भाडाको घरमा बाबुआमा र दुई बहिनीका साथमा बस्दै आएका छन् । जेठी दिदी र दाजुको विवाह भैसक्यो । सुकुम्बासी परिवारमा हुर्किएका उनले चरम गरिबी भोग्नु परिरहेको छ । परिवारका सदस्य बनीबुतो गर्न नगए चूल्होमा आगो बल्दैन ।
केही समयदेखि काम गरेर पाल्ने बाबुसमेत बाथ रोगले थलिएपछि झन् समस्या भएको छ । आफू रोगले थिचिए पनि अहिले रिक्सा र साइकल मर्मत गर्ने काम गर्दै घरको गर्जो टार्दै आएका छन् रामले ।
घर नजिकैको रिक्सा-साइकल स्टोरमा काम गर्छन् उनी । त्यहाँबाट आएको पैसा कान्छी बहिनी पार्वतीको पढाइमा खर्च जुटाउने गरेको रामले बताए ।
पार्वती स्थानीय सामुदायिक विद्यालयमा कक्षा १० मा पढ्दैछिन् । ‘आफू र अरु दिदी-बहिनीले पढ्न नसके पनि पार्वतीलाई भने पढाएर ठूलो मान्छे बनाउने इच्छा छ,’ रामले भने ।

अरुकोमा काम गर्दै आएका रामले कतैबाट सहयोग पाए आफ्नै रिक्सा साइकल स्टोर सञ्चालन गर्ने सोच बनाएका छन् । तर आर्थिक समस्याका कारण त्यो सार्थक बन्न सकिरहेको छैन । उनले आफ्नो शरीरमा पलाएको मासुको डल्लोको उपचारका लागि उपाय जुटाइदिन पनि सबैमा आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्