विराटनगर । एक जनाको मृत्यु र एकजना घाइते हुने गरि भएको कार दुर्घटनाको आरोपमा पक्राउ परेका रबिन सिंह कार्की जेल चलान भएका छन् । विराटनगर–५ बरगाछीका २४ वर्षीय कार्कीलाई पूर्पक्षको लागि जेल पठाउन जिल्ला अदालत मोरङले बुधबार आदेश गरेको हो ।
मोरङ अदालतका न्यायाधीश सुर्दशन लामिछानेको ईजालशले कार्कीलाई पूर्पक्ष गरि थप अनुसन्धान गर्नुपर्ने भएकोले थुनामा राख्न आदेश गर्नुभएको थियो । अदालतको आदेशपछि रबिन विराटनगर कारागार चलान भएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिनुभयो ।
जिल्ला सरकारी वकिलको कार्यालय मोरङले ‘सवारी ज्यान मुद्दा’ मा मोरङ अदालतमा मंगलबार अभियोग दर्ता गरेको थियो । सवारी तथा यातायत व्यवस्था ऐन २०४९ दफा १६१ (२) र दफा १६२ (१) कसूरमा ऐनको दफा १६१ (२) अनुसार ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि एकलाख रुपैँयासम्म जरिवाना अभियोगपत्रमा माग दावी गरिएको थियो ।
जेठ २० गते राती साढे सात बजे प्रदेश सांसद बिन्दिया कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारका चालक रबिनले पैदलयात्रीलाई ठक्कर दिँदा ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो । अर्का मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय राजकुमार राजवंशी घाइते भएका थिए । दुर्घटनापछि उनी फरार भएसँगै सवारी ज्यान केसमा संलग्नलाई जोगाउन खोजेको आशंका र आलोचना भएको थियो । प्रहरीले जेठ २३ गते उनलाई पक्राउ गरेर अनुसन्धान गरेको हो ।
प्रहरीले उनको परिचय रबिन सिंह कार्की उल्लेख गर्दै आएको छ । नागरिकताका आधारमा उनको नाम गरिएको थियो । उनीसँग तत्काल सवारी चालक अनुमति पत्र नभएको दावी गरिएको थियो । तर, अदालतमा यातायात व्यवस्था कार्यलय बागमती कार्यालयले रविन कार्कीको नाममा लाइसेन्स रहेको जानकारीसहितको उपलब्ध पत्र राखिएको छ । २०७५ कार्तिक १२ गते सवारी चालक अनुमति पत्र बनाएका रबिन कार्कीको ०१–०६–००५४२५१९ नम्बरको लाइसेन्स रहेको पत्रमा उल्लेख छ ।
प्रहरीले अनुसन्धानका क्रममा उनको नागरिकताका आधारमा रबिन सिंह कार्की नाम उल्लेख गराएको भए रबिन कार्कीको नामबाट मात्रै कसरी लाइसेन्स बन्यो भन्ने कुराले अझै धेरै आशंका उब्जाएको छ । बागमती प्रदेशबाट बनाएको लाइसेन्स नम्बरसहितको पत्र आएको छ । हार्डकपी सवारी अनुमति पत्र भने संलग्न नगराइएको सुरक्षा स्रोतको भनाई छ ।