विराटनगर । हराएका मोटरसाइकल खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा परेका उजुरी उपर कारवाहीमा सकस पर्दै गएपछि ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा कागजात विवरण परीक्षण गर्न थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले पछिल्ला दिन खासगरी मोटरसाइकल चालकको साथमा रहेको लाइसेन्ससँगै ब्लूबुकको चेकजाँच गर्न थालेको हो ।
लाइसेन्स मात्रै साथमा लिएर यात्रामा निस्कने सवारी चालकले अब ब्लूबुकलाई समेत साथैमा राख्नुपर्ने भएको छ । हराएका मोटरसाइकल सडकमै गुडाईरहेको हुनसक्ने संभावनालाई मध्यनजर गर्दै चालकसँग सवारी चालक अनुमतिपत्र र सवारी विवरण उल्लेखित ब्लूबुक चेकजाँचलाई कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक एवं इन्चार्ज चन्द्र खड्काले जानकारी दिनुभयो ।
सवारी कागजात सबै बेला अनिवार्य साथमा हुनुपर्दछ, प्रहरी निरीक्षक खड्काले भन्नुभयो–पछिल्लो समयमा हामीले हराएका मोटरसाइकल खोज्ने अभियानलाई लक्षित गर्दै चेकजाँचमा कडाई गरेका हौं । निषेधाज्ञाको समयमा समेत सवारी दुर्घटना भएको र दुर्घटनामा संलग्न चालकसँग अनुमति पत्र नपाइएकोले चेकजाँचमा कडाई गर्नुपर्ने अवस्था आएको प्रहरीको बुझाई छ ।
मोरङमा एकवर्षको अवधी पूरा हुन बाँकी नै छँदा ११७ थान मोटरसाइकल हराएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन परेका छन् । प्रहरीले एकवर्षसम्म २१ वटा मात्रै मोटरसाइकल फेला पार्न सकेको छ । बाँकी ९६ मोटरसाइकल अझै खोजतलासकै क्रममा रहेको छ ।
मोटरसाइकल हराएसँगै खोजि गरिदिन माग गर्दै उजुरी दिनेहरुले दवाव बढाउँदै गएपछि मोटरसाइकल चोरि गरेर स्वरुप परिवर्तन गर्ने र यहिंका सडकमा गुडाईरहेको हुनसक्ने संभावनालाई समेत पछिल्लो चेकजाँच लक्षित गरिएको छ ।
मोरङमा चालु आर्थिक वर्षमा मात्रै ६८ हजार २२४ सवारी साधन ट्राफिक कारवाहीमा परेका छन् । यी सवारी साधनलाई कारवाही गर्दा ४ करोड ६५ लाख ९ हजार ५०० राजश्व संकलन भएको उल्लेख छ । यसैगरी ३९३ सवारी चालक मापसेमा कारवाही गरे ३ लाख ९३ हजार रुपैँया जरिवाना भराइएको उल्लेख छ ।