विराटनगर
सेवानिवृत्तको समय नजिकदै गर्दा भन्सार परिसरबाटै सेटिङमा चोरी निकासी तथा पैठारीमा संलग्न रहेको आरोप लाग्दै आएका विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव भण्डारी विरुद्ध अख्तियारमा उजुरी परेको छ । भण्डारीसहित भन्सारका दुई कर्मचारीका विरुद्धमा अख्तियारमा लिखित उजुरी परेपछि भन्सार कार्यालयमा अहिले हल्लीखल्ली मच्चिएको छ । उनीहरु विरुद्ध गत मंगलबारको मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
भन्सार कार्यालयका कर्मचारीले सेटिङमा भन्सार छल्ने गरेको भन्दै प्रहरीले समेत यस अगाडी प्रश्न उठाउँदै आएको थियो । केहिदिन अगाडी राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीले भन्सार जाँचपास भई छुटेको दुईवटा ट्याक्टर नियन्त्रणमा लिएपछि कर्मचारी संलग्नताको पुष्टि भएको थियो ।
भन्सार प्रमुख भण्डारीसहित अन्य दुई कर्मचारी विरुद्ध परेको उजुरीको बोधार्थ प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद, अर्थ मन्त्रालय, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, भन्सार विभाग, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, इटहरी र १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई दिइएको छ । उजुरीमा विराटनगर भन्सारका अधिकृत निर्माण भट्टराई र राजेन्द्रप्रसाद ढुंगानाको नाम समेत छ ।
गत साउन ३ गते विराटनगर भन्सारबाट जाँचपास भएको सामानमा कम परिमाण र मूल्य पनि थोरै राखी भन्सार पास गरेको उल्लेख छ । को २ त ६८११ नम्बर र बीआर ५० जी ५०३५ नम्बरको ट्याक्टरबाट आयात भएको सामान राजश्वले नियन्त्रणमा लिएर चेकजाँच गर्दा भन्सार छलेको पाइएको थियो । त्यो उजुरी चुहाएको भन्दै विराटनगर भन्सार क्षेत्रमा एजेन्टको प्रतिनिधिको काम गर्दै आएका राजकुमार रौनियारलाई विराटनगर भन्सारले एकीकृत जाँच चौकी छिर्न नपाउने गरी रोक लगाएको छ । आफ्ना कमजोरी बाहिर जान थालेपछि रौनियारलाई सार्वजानिकस्थलमै प्रवेश गर्न रोक लगाइएको हो ।
तर, यस विषयमा भन्सारका निमित्त भन्सार प्रमुख अमित तिवारीले केहि पनि बताउन नसक्ने बताउनुभयो । भन्सार प्रमुख हुनुहुन्न यस विषयमा बाँकी कुरा गर्न सकिदैन, निमित्त प्रमुख तिवारीले भन्नुभयो–हामीलाई असजिलो पार्ने गरि समाचारहरु आईरहेका छन् ।
रौनियारले कृष्ण थापाका नामको लाइसेन्स प्रयोग गरी उनको प्रतिनिधि भएर काम गर्दै आइरहेका छन् । उनलाई यसअघि पनि कार्वाही गरिएको थियो । उनले अवैध रूपमा कपडा भित्र्याउँदा उनले प्रयोग गरेको भ्यानबाट कपडा बरामद भएको थियो । त्यसमा उनलाई ५४ लाख धरौटी राख्न लगाइएको थियो ।
अर्का कारोबारी अकबर अली पनि अरुकै लाइसेन्स प्रयोग गरेर विराटनगर भन्सारमा काम गर्दै आइरहेका छन् । अलीको पनि दुई ट्याक्टर सामान इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको थियो ।
उनले १८ लाख रूपैयाँ बराबारको राजस्व छलेको पाइएको छ । अलीसँग राजस्व अनुसन्धानले १० लाख धरौटी लिएको छ । भन्सार एजेन्ट भरतप्रसाद भट्टराईको लाइसेन्सबाट काम गर्दै आएका अकबर र रौनियार एकाअर्काको पोल खोलाखोलमा लागेकोले भन्सार कर्मचारीको संलग्नता बाहिरिएको हो ।
उस्तै सूचना बाहिर ल्याउने दुईमध्ये रौनियारलाई प्रवेश रोक लगाएपनि अलीलाई भने त्यसै छोडिएको छ । भन्सार सम्वद्ध एक व्यक्तिका अनुसार अलीले आफूलाई प्रवेश रोक नलगाउन आग्रह गर्दै केहि खर्च गरेको दावी गरिएको छ ।