अफगानिस्तान युद्ध: काबुलबाट भागेका राष्ट्रपति अशरफ गनी कहाँ गए?

<span class='c1'>अफगानिस्तान युद्ध: काबुलबाट भागेका राष्ट्रपति</span> <span class='c2'>अशरफ गनी कहाँ गए?</span>

अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेपछि तालिबानले "लडाइँ सकिएको" दाबी गरेको छ।

काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमी शक्तिराष्ट्रका दूतावासका कर्मचारी र नागरिकहरू आफ्नो देश फर्किन आतुर अवस्थामा बसेका खबरहरू आएका छन्।

अमेरिकाले त्यहाँ कुल ६,००० सेना पठाउँदै छ। तीमध्ये आधाभन्दा बढी काबुल पुगिसकेका छन्। काबुलबाट कैयौँ मानिसहरू घर छाडेर भागिरहेको खबर आएको अफगान राष्ट्रपति पनि आइतवार विदेश पलायन भएका छन्।

कहाँ गए राष्ट्रपति?

देश छाडेपछि अफगान राष्ट्रपति अशरफ गनी कहाँ गए भन्ने चासो सर्वत्र देखिएको छ। अफगान उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेको बताइएको छ। सुरुमा राष्ट्रपति गनी भागेर ताजिकिस्तान गएको बताइएको थियो।

अफगानिस्तानमा तालिबानद्वारा विजय भएको दाबी
तालिबानका नेता को? कसले सम्हाल्लान् अब अफगान सरकार

तर पछि अल जजिरा टेलिभिजनले उनी उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको समाचार प्रसारित गर्‍यो। अल जजिराका अनुसार राष्ट्रपति गनी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार तासकन्द पुगेका हुन्। अल जजिराले राष्ट्रपतिका निजी सुरक्षा गार्डलाई उद्धृत गर्दै यस्तो समाचार दिए पनि त्यसको स्वतन्त्र पुष्टि भएको छैन।

देश छाडेपछि राष्ट्रपति गनीले के भने?

यसैबीच एउटा फेसबुक पोस्टमा अफगान नागरिकहरूलाई सम्बोधन गर्दै गनीले काबुल छाड्नु आफ्ना लागि एउटा कठिन फैसला भएको बताएका छन्। उनले "रक्तपात रोक्नका लागि" उक्त निर्णय लिएको भन्दै स्पष्टीकरण दिएका छन्। उनले आफू काबुलमा बसेको भए तालिबान काबुल आएपछि झडप हुनसक्ने र त्यसबाट लाखौँ मानिसको ज्यान खतरामा पर्न सक्ने सम्भावना औँल्याएका छन्।

गनीले फेसबुक पोस्टमा लेखेका छन्, "आज मैले एउटा कठिन निर्णय गर्नुपर्ने थियो - या त (राष्ट्रपति भवन) आउन खोज्ने सशस्त्र तालिबानसमक्ष म उभिनुपर्थ्यो या प्यारो देश जसको सुरक्षार्थ विगत २० वर्ष मैले आफ्नो जीवन समर्पण गरेँ त्यो छोड्नुपर्थ्यो।"

"त्यस क्रममा अनगिन्ती मानिसहरू मारिन्थे र हामीले काबुल सहरको विध्वंश देख्नुपर्थ्यो, त्यसबाट ६० लाख जनसङ्ख्या भएको सहरमा ठूलो मानवीय त्रासदी उत्पन्न हुन्थ्यो।" उनले तालिबानले हतियारको बलमा विजय हासिल गरेको लेखेका छन्। त्यस्तै उनले अब अफगानहरूको इमान, सम्पत्ति तथा आत्मसम्मानको रक्षाको जिम्मा तालिबानको भएको बताएका छन्।

राष्ट्रपति अशरफ गनीले 'अफगानिस्तान छोडे'
को हुन् तालिबान लडाकु, कसरी भयो उदय

उनले लेखेका छन्, "तर उनीहरूले मन जित्न सक्दैनन्। इतिहासमा कहिल्यै पनि कसैलाई पनि शक्तिले मात्र यो हक प्राप्त भएको छैन र मिल्ने पनि छैन। अब उनीहरूले एउटा ऐतिहासिक परीक्षाको सामाना गर्नुपर्नेछ।"

तालिबानसँगको वार्ताको नेतृत्व गरेका अब्दुल्लाह अब्दुल्लाहले गनी देशबाट पलायन भएको आइतवार नै पुष्टि गरेका थिए। उनले फेसबुकमा एउटा भिडिओ पोस्ट गर्दै राष्ट्रपति गनीको आलोचना गरेका छन्।

को हुन् अशरफ गनी?

अशरफ गनी दुई पटक अफगानिस्तानका राष्ट्रपति निर्वाचित भएका थिए। उनी पहिलोपटक सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बनेका हुन्। उनी देशका चर्चित शिक्षाविद् हुन्।
उनले आफ्नो जीवनको अधिकतम समय देशबाहिर नै बिताएका थिए।

अफगानिस्तानमा तालिबान कसरी यति चाँडै पकड बनाउन सफल भयो
तालिबान काबुल नजिक पुग्दैगर्दा कूटनीतिज्ञहरूद्वारा रफ्तारमा बहिर्गमनको प्रयास
अफगानिस्तानमा तालिबान सत्ता गएपछि र केही वर्षको युद्धपश्चात् गनी स्वदेश फर्केका थिए।

राष्ट्रपति पद सम्हालेपछि उनलाई एकदमै इमानदार व्यक्तिका रूपमा चित्रित गरिएको थियो। तर चाँडै उनलाई चाँडै रिसाउने व्यक्तिका रूपमा पनि चिन्न थालियो। उनी अफगानिस्तानका बहुसङ्ख्यक पाश्तुन समुदायका व्यक्ति हुन्। उनलाई तालिबानले सधैँ अमेरिकाको "कठपुतली" का रूपमा चित्रित गर्ने गरेको छ।

तालिबानको काबुल यात्राः यस्तो छ समयक्रम:

एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो |
मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
२१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी अफगान

१३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
१४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
१५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, काबुलस्थित राष्ट्रपति भवनमा तालिबान प्रवेश

के हो तालिबान?

अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।

अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए। साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।

पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।

'अमेरिकाले धुइँपत्ताल खोज्थ्यो, तालिबान नेता ओमार अमेरिकी सैनिक इलाकानजिकै बस्थे’
अफगानिस्तान युद्धमा के अमेरिकाले अपेक्षा गरेको नतिजा पायो?

तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो। तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।

टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।

काबुलमा तालिबान शासन

दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्‍यो। सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।

राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो। सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो।

सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।

आफ्नी आमाको नजरमा बिन लादेन
अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोराको ‘मृत्यु’

तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो। तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ।

तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो। त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए। दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो।

बिन लादेनसँगको सम्बन्ध

सन् २००१ मा न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणपछि अफगानिस्तानको शक्तिमा रहेको तालिबान समूहको चर्चा विश्वस्तरमा भयो। न्यूयोर्कमा भएका आक्रमणको आरोप लागेका ओसामा बिन लादेन र अल-कायदालाई तालिबानले अफगानिस्तानमा सुरक्षित रूपमा बस्न सघाएको आरोप लगाइयो। सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाको नेतृत्वमा तालिबानलाई सत्ताच्युत गरियो। तर पछि तालिबानले बिस्तारै आफ्नो शक्ति बढाउँदै लग्यो र पाकिस्तानमा पनि बलियो रूपमा देखा पर्‍यो।
-बिबिसी नेपालि न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्