विराटनगर । प्रहरी हिरासतमा रहेकै अवस्थामा विराटनगर–११ का ३९ वर्षीय भिम कामत मृत्यु प्रकरण छानविन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबीन समिति गठन गरेको हो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबीन समिति गठन गरिएको छ । समितिमा प्रदेश प्रहरी कार्यालयका १ जना डिएसपी सहित मृतकको बसोबास रहेको ११ नम्बर वडाका वडाध्यक्ष तीथेन्द्र न्यौपाने, वडानम्बर १२ का वडाध्यक्ष हिरालाल कामत, मृतकका छिमेकी विरेन्द्र कार्की सदस्य छन् । समितिलाई १० दिनमा घटनाको सत्यतथ्य छानबीन गरी मोरङ प्रशासनलाई प्रतिवेदन बुझाउन कार्यदेश तोकिएको छ ।
छानबीन समिति गठन भएपछि मंगलबार दिउँसो कोशी अस्पतालमा मृतक कामतको शवको पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमपछि आफ्न्तले शव समेत बुझेका छन । लागुऔषध गाँजासहित पक्राउ भदौ १८ गते पक्राउ परेका कामतको २० गते कोशी अस्पतालमा मृत्यु भएको थियो । कामतको मृत्यु प्रहरीको यातनाबाट भएको भन्दै आफन्तले विरोध प्रदर्शन गर्दै आएका थिए ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका उनीहरुले मंगलबार कोशी राजमार्ग अन्तर्गत विराटनगरको महेन्द्रचौकदेखि बिजुली अफिससम्मको सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । आफन्तले शव नबुझि बारम्बार विरोधमा उत्रिएपछि स्थानीय प्रशासनले छानविन गर्ने भन्दै समिति गठन गरेको हो ।