विराटनगर । कोरोना कहरको डरमा पनि नगर सफाईका लागि खट्ने विराटनगरका सफाईकर्मीलाई चाडपर्व लक्षित राहत सामाग्री वितरण गरिएको छ । नेपाल विकास समाजले विराटनगर महानगरपालिका क्षेत्रमा दैनिक नगर सफा गर्ने सफाईकर्मीलाई राहतस्वरुप २५ केजी चामल वितरण गरेको हो ।
विराटनगर–१० रोडशेषस्थित वेष्ट मेनेजमेन्ट ग्रुप नेपालको शाखा कार्यालयमा कार्यक्रमको आयोजना गरेर राहत सामाग्री हस्तान्तरण गरिएको थियो । वडा अध्यक्ष माधवराज काफ्लेको अध्यक्षतामा नेपाल विकास समाजले उपलब्ध गराएको राहत सामाग्री विभिन्न संस्थाका प्रतिनिधिले हस्तान्तरण गर्नु भएको थियो ।
महानगरपालिका क्षेत्रको सफाईकर्ममा दैनिक खटिने २१३ जना सफाईकर्मीलाई राहतस्वरुप चामल वितरण गरिएको वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल कार्यन्वयन शाखा प्रमुख निलमणी पराजुलीले जानकारी दिनुभयो । दैनिक महानगरको सफाईमा खटिने उनीहरुलाई राहत प्रदान गरेपछि खुशी व्यक्त गरेका थिए ।
