हो । म जनै लगाउँदिन । म जुन मन्त्रलाई गायत्री मन्त्र हो भनेर बुझ्दछु, व्रतबन्धको बेला गुरुजीले कानमा खुसुखुसु भनेको मन्त्र यही थियो कि थिएन भन्ने मलाई ज्ञान छैन । म कुनै बिहान गायत्री मन्त्र पढ्दिन । म मन्दिर नगएको पनि साह्रै धेरै भइसक्यो । म व्यक्तिगतरुपमा देउता मान्छु कि मान्दिन, खुट्याउँन सक्दिन । निधारमा चन्दन अथवा टिका अथवा तिलक लगाउदिन । समग्रमा, म हिन्दु देखिन्न ।
कुनै अमुक देउताको टाउकोबाट उत्पन्न भएका ब्राम्हण, काँधका क्षत्री, पेटबाट उत्पन्न भएकाले वैश्य अनि खुट्टाबाट उत्पति भएकाले शुद्र भए, तिनलाई सोहि अनुसार व्यवहार गर्नु पर्छ भन्ने कुरा वाइयात र पाखण्डी लाग्छ । जब मेरा कथित तल्लो जातका साथी 'गोविन्द शंकर'हरुको थालमा छोइएला कि भनेर निकै माथीबाट भातको डल्लो झर्छ र भातका सिता उसका वरिपरि छरिन्छन्, म सिता होइन, मानवता भुँइभरि जुठो भएर असरल्ल छरिएको देख्छु । जब मेरा मुसलमान साथी 'ताइर मोहम्मद मिया' हरु आफ्नो नाम 'सुरज' हो भन्दै परिचय गर्छन्, तब मेरो धार्मिक सहिष्णुताको परिचय अहम्ताले छोपिएको देख्छु । जब मन्दिरको द्धारमा 'प्रवेश हिन्दुहरु मात्र' को बोर्ड लेखिन्छ, म देउताहरुलाई कोची कोची कुनै झ्यालखानामा मान्छेले थुन्दै गरेको देख्छु । समग्रमा, म हिन्दुका कतिपय दर्शन मान्दिन ।
तर ।
तर, मन्दिरमा मेरा हातहरु श्रद्धावश जोडिन्छन्, शिर झुक्छ । मस्जिद जाँदा स्वत: घुँडा टेकिन्छन् । चर्च जाँदा हात छातीमा पुग्छ । ३३ कोटी देउता मानेको 'मेरो हिन्दुत्व'मा अरु देउताहरु थपिदा पनि हिसाब गोलमाल हुदैन । धर्मको महानतामा हिंस्रक हतियारको उपयोगिता कुनै पनि कोणबाट जायज हुन्न । यसैले, कृपया, मलाई मेरै हालतमा छोडिदिनुहोस् । म तपाईले भने जस्तो 'हिन्दु' हुन सक्दिन । तपाईले भने जस्तो 'हिन्दुत्व' को वकालत गर्न सक्दिन । समग्रमा, म हिन्दु हुँ, तपाई जस्तो 'हिन्दु' होइन ।
पुनश्च : धर्म बचाउँन हतियार बोक्ने अवश्था आएको भन्दै केहि लेख्न अनुरोध गर्ने साथीहरुका लागि ।
पुन: पुनश्च : भुलचुक लिनेदिने ।