विराटनगर । कोभिड महामारीका कारण गतवर्ष नेपालीहरुको महान चाड दशैं प्रभावित भएपनि यसपटक विराटनगरमा भने दशैंको पुरानै रौनक पुनः देख्न पाईएको छ ।
बडादशैंको दशौं तथा मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा ग्रहण गरि हर्षोल्लासका साथ मनाइँदैछ । दशैंको टीकाका लागि शुक्रबार बिहान १०ः०२ बजेको साईतलाई शुभ मानिएको थियो । यद्यपि देवी विर्सजन पश्चात आज दिनभरि टीका लगाउन पाईने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार साईतको समय प्रभावशाली मानिएपनि नसक्नेका लागि विजयादशमीको दिन बिहानदेखि अखिल बलिपूर्तिका लागि पूजा गरेका सबै सामग्री नसेलाएसम्म टीका लगाउन कुनै बाधा पर्ने छैन् । विदेशबाट आउनेका लागि भने अखिल बलि पूर्ति गरेपछि पनि प्रसाद बाँकी राखेर कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाइदिन सकिने जनाईएको छ ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतिक पहेँलो जमरा प्रयोग गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रूपमा लगाईन्छ । घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।
आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरू, पुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य समृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ । सोही अनुरुप आज विराटनगरमा पनि दशैंको टीका ग्रहण गरिएको छ ।
केही तस्बिरहरु :