विराटनगर । दशैंपछि नेपालीहरुको दोस्रो ठूलो महान चाड हो, तिहार । तिहारको आज तेश्रो दिन दीपावलीसँगै धनकी देवी लक्ष्मीको आराधना गरि आज लक्ष्मी पुजा गरिँदैछ ।
कोभिडका कारण पछिल्लो वर्ष खल्लो भएको तिहारको रौनकता यसपटक पुनः देख्न पाईएको छ । विराटनगरमा पनि लक्ष्मी पुजाको भव्य तयारी भईरहेको छ । तिहार लक्षित किनमेलका लागि बजारमा पनि सर्वसाधारणको भिड उत्तिकै छ । लक्ष्मी पुजालाई लक्षित गरि ठाउँठाउँमा माटोको दियो, कलश, मुर्ति र फलफुल लगायतका सामाग्रीहरु खरिद बिक्री भईरहेको देख्न सकिन्छ ।
आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाईला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यता अनुसार घरघरमा दीपावली गरिन्छ । दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर विधिवत रुपमा धनधान्यकी देवी लक्ष्मीको पुजाअर्चना गरिन्छ ।
यसका लागि बिहानैदेखि घर, आँगन, दैलो, पिँढी, मझेरी, दलान, कौसी, कोठालाई गाईको गोबरले लिपेर सफा बनाई देवीको आगमनको लागि तयार पारिन्छ । घरका झ्याल, ढोका र पानी सार्न प्रयोग हुने गाग्री तथा लोटामा समेत फूलका माला लगाएर सिँगार्ने कार्य गरिन्छ ।
लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आर्थिक संकट नपर्ने जनविश्वास छ । आजको दिन लक्ष्मी पूजासँगै लक्ष्मीको प्रतिक मानी छोरीहरूको पनि पूजा गर्ने चलन रहीआएको छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक मान्यता छ । लक्ष्मी पूजन सम्पन्न भएपछि घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ । हरेक उमेर समुहका महिलाहरु सामुहिक रुपमा घरघरमा भैलो खेल्न जान्छन् ।
सत्ययुगमा वामन अवतार भगवान बिष्णुले तीन पाउँ भूमि माग्दा दानवराज बलिले भगवानलाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक शास्त्रहरुमा वर्णन गरिएको छ ।
केही तस्बिरहरु :