विराटनगर । मोरङको बुढिगंगा–६ सिसुवानीमा हिजो राती भएको दोहोरो हानाहानमा एकजनाको मृत्यु भएको छ । दोहोरो हानाहानका क्रममा खुकुरी प्रहारबाट घाइते धनकुटा पाख्रिबास–४ का २६ वर्षीय रिजन दाहालको मृत्यु भएको हो ।
दोहोरो हानहानपछि घाइते भएका दाहाललाई सुरुमा स्थानीय स्वास्थ्य चौकी, त्यसपछि खनार लगेरपछि मात्रै उपचारका लागि विराट टिचिङमा ल्याइएको थियो । दाहाललाइ चिकित्सकले ९ः४५ मा मृत घोषणा गरेका थिए । स्थानीय नानु लिम्बुको भतिजीको बर्थडे पार्टीमा दाहाल र अर्का कमल थापा पुगेका थिए । त्यहि पार्टीमा सरिक हुन आएको अर्को समूहसँग घर फर्कने क्रममा दाहाल, थापा र लिम्बुको भनाभन भएको थियो । त्यहि क्रममा दोहोरो हानाहान हुदाँ तीनजना घाइते भएका हुन् ।
मृतक दाहाल खनारमा बस्दै आएका थिए । उनी रिलायन्स स्पिनिङ्गमा कार्यरत रहेको प्रहरीले बताएको छ । मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठका अनुसार अर्को समूहमा रहेकामध्ये धनबहादुर भन्नेसँग दाहालको कार्तिक २७ गते सामान्य विवाद भएको थियो । आँखामा टर्चको लाइट पारेको भन्दै भनाभन भएको प्रहरीले बताएको छ ।
तर, भोलिपल्ट आयोजित बर्थडे पार्टीमा यी दुवै समूह एकै स्थानमा भेला भएका थिए । पार्टीमा थापा र दाहाललाइ नबोलाएपनि दिउँसो ४ बजे नै नानु लिम्बुको घरमा पुगेको प्रारम्भिक सोधपुछमा खुलेको प्रवत्ताको भनाइ छ । पार्टीस्थल र घटनाभएको स्थान एक किलोमिटर दुरीमा पर्दछ । घटनामा सामान्य घाइते थापा र लिम्बुलाइल उपचारपछि जिल्ला प्रहरी कार्यलय ल्याइएको छ । बाँकी अर्को समूहका सातजनाको खोजि भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतक दाहालका आफन्तलाइ धनकुटाबाट झिकाइएको छ । उनीहरु आइरहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।