निताका बाबा चिया खाँदै थिए । अचानक कताबाट भाइसँग खेल्दाखेल्दै भाइका पछि पछि दौडँदै निता आई । त्यसरी आएकी निताले ठोकाएकोले निताका बाबाको हातमा रहेको तातो चियासहितै चियाकाे गिलास उछिटियो र झर्यो । चियाकप पर उछिटिएर चुरचुर भयो । रिसका झोकमा छोरीलाई एक थप्पड हिर्काए । ऊ भने डरले थुरथुर भई । कुटाइ खाएर पनि रुनै सकिन । घुँक्क घुँक्क मात्र गरी र एकातिर कुनामा लागी । भाइको खुट्टामा तातो चिया परेकोले चिच्याएर रोयो । भाइलाई पोलेको ठाउँमा मलम लगाइयो । खाने तेल लगाइयो । बिस्तारै उसको रुवाइ केही साम्य भयो । यो सब देखेर निता ता भित्रभित्रै झन् अतालिई । भाइलाई केही हुने पो हो कि ? अनि डरले आमाका साथमा गएर लेपासिई । छुट्टीको दिन भए पनि निताको बाबा आज काम विशेषले अफिसमा बिहानै जान लागेका थिए लगाएका लुगा सबै चिया उछिट्टिएर बिग्रिए । उनकी पत्नीले आइरन गरिदिइन् अर्काे जोर लुगामा । अनि अर्काे जोर लुगा लगाएर लागे अफिसतिर ।
साँझमा घर फर्किए ।
छोरी उनका अघि नै परिन ।
सधैं हो भने आएर काखमा अघि लुट्पुटिन्थी । तर आज किन हो उनका अघि आउँदै आइन । सायद बिहानको कुटाइ र डरले ऊ अहिलेसम्म पनि सामान्य भएकी छैन । मनुले अनुमान गरे । 'कता गई छोरी ?' मनुलाई नै उत्सुकता लाग्यो ।
साँझको भात खाने बेला हुन लाग्यो छोरी आफैं मनु भए ठाउँमा भित्रबाट आई भनी- "बाबा सरी । सरी बाबा । अबदेखि म त्यस्तो काम गर्दिनँ । भाइलाई माया गर्छु । सरी बाबा !!"
यसरी माफी माग्दै उसले उसका बाबाका हातमा समाएर भान्सामा लगी । मनु उसका पछि नबोली लागिरहे ।
भान्सामा गएर पो थाहा भो, बिचरा निताले बिहानैदेखि खानै पो खाएकी रहिनछे ।
मनुलाई अहिले भने आँखा भरिएर आए । अनि काखमा राखेर छोरीलाई गहिरो म्वाइँ खाँदै सोचे- "म पनि कति नालायक हुँ । बालबालिकाले नखेले कसले खेल्छ त ? त्यसरी कुट्नु हुन्थ्यो मैले । छिछिछि धिक्कार छ मलाई..............