लघुकथा : भद्रसहमति – धनराज गिरी

<span class='c1'>लघुकथा : भद्रसहमति </span> <span class='c2'>– धनराज गिरी</span>

रमिता र मेरो बिबाह भयो | कसरी भयो ? मलाई याद भएन |त्यतातिर ध्यान दिने फुर्सद नै भएन |पिताजीको देहान्त हुँदा म जम्मा १७ बर्षको थिएँ| ब्यबहारको बोझ सबै मेरो काँधमा |तीन बैनीहरु ,साना साना |आमा सोझी |दुई सन्तान मेरा पनि भए |
रमिता ,नामै रमिता ,कामै रमिता ! हरेक कुरामा अड्को थाप्ने |नन्दहरु ,उनका लागि झिंझो | भाउजूको मनोविज्ञान बुझेर हो कि दाजुको आर्थिक हैशियत चाल पाएर हो ,२० न कटी तीन बहिनीले नै थर र घर परिवर्तन गरे |आमा पनि ६० नकटी पिताजीको लोकतिर| छोरा र छोरी हुर्किए ,पढे ,बढे र जेट चढे |अब घरमा उनी र म| कहिले पनि मिठो बोली सुनिन |कहिले पनि प्रेमको कुरा भएन |छिमेकमा प्रोफेसरको घर छ |उनको जोडीको माया प्रीति लोभ लाग्दो छ |" बूढा " म्याडमको सम्बोधन ," पियारी बूढी " सरको माया | चखेवा -चखेवी ! हामी त नित्य भीम र दुर्योधन |यसो बिचार गरें " कतै कमजोरी मेरो पनि हो कि ?उनी यस्ती हुनमा म नै कारण हो कि ? होइन ,आज अलि बेग्लै भएर कुरा गर्छु |मैले पनि यो कुरामा ध्यान नदिएको हो कि ?" मन बलियो बनाएँ |
" रमिता ,आज बजार जाउँ |तीज आउन लाग्यो ,केही नयाँ कपडा किन |कति घरमा पकाउनु |आज होटेल जिन्दाबाद ! जाउँ है "| आम्मै ,कस्तरी हेरिन्! मेरो सातो गयो |मानौं उनी भोको बिरालो हुन् र म मुसो |
" पर्या छैन चेपारो पार्न |जान्न बजार |" उही शैली |फुकेन मायाको थैली |म अझ कुटनीतिक पाराले प्रस्तुत भएँ," पियारी ,आखिर हामी पति पत्नी हौँ ,खोई यो अनुभूति कहिले पनि भएन |सायद दोष मेरै हो |आऊ ,हामी पनि " भद्रसहमति " गरौँ | बाँकी जीवन जीवन जस्तै होस् |हेर ,अब त दुख पनि छैन |गर्जो टरेकै छ |किन यस्तो बिरसिलो पार्ने आफ्नै जिन्दगी ?"
"किन हो आज यस्तो कुरा गरेको ? खुरुक्क गोठमा गएर भकारो सोर्ने ! के हो यो भद्रसहमति ?"
भद्रसहमति बुझाउन एक घण्टा लाग्यो |प्रोफेसरको संगत ,रेडियो ,टेलिभिजन आदिको प्रभावले अलि अलि राजनीति बुझ्ने भएको थिएँ .पढ्न त पाइन|उही आठ पास -नेपाली नेताजस्तै !
" धान पाकोस्, अनि पालना गरौंला यो भद्रसहमति " बल्ल अलि नरम स्वर सुन्न पाएँ |
धान भकारीमा आयो |" हुन्छ हुन्छ भन्ने हो कि हुन्न हुन्न भन्ने हो " यही कुरा मनमा खेलिरह्यो |जीवनमा पहिलोचोटी प्रेम प्रस्ताव राख्ने मूड बनाएको थिएँ |
त्यो रात , म बेग्लै अनुभूति गर्दै | लगभग रातको १० बज्यो |म कोठामा उनको प्रतीक्षा गर्दै |तर उनी अर्कै कोठामा ढोकामा चुकुल लगाएर |"फेरि के भयो ?"
" रमू,आज मेरो जन्मदिन ! भद्रसहमति आजदेखि नै पालना गर्ने योजना हो मेरो |आऊ ,ढोका खोल |" छैन आवाज ,छैन प्रतिक्रिया |" यो कस्तो नाकाबन्दी हो ?"
कुरेको काम लागेन |ढोका खोलिएन| जैविक चाहना पूरा भएन |रमिताले रमिता नै गरिन् |"भद्रसहमतिको " धज्जी उडाइन|आखिर उनको पिता त बडो " सुशील " थिए |
त्यसपछि म साहित्यतिर लागें र ओम शान्ति आश्रमको स्थायी सदस्य भएँ|थाहा पाएँ " कहिले पनि पालना गर्न नपर्ने सहमति नै भद्रसहमति रहेछ !"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्