विराटनगर । विराटनगर महानगरपालिका अन्तर्गत कोशी राजमार्ग पश्चिमलाई ‘कर्णाली क्षेत्र’ घोषणा गर्दै स्थानीयले विकासको माग गरेका छन् । विराटनगर–४ र ५ वडाका स्थानीयले आफ्नो क्षेत्रलाई विकासमा पछि पारिएको भन्दै नेता निषेध अभियान सुरु गरेका हुन् ।
विराटनगरको बरगाछी, चाँदनीचौक, गणेशचौक, पुलचौक, कोचाखाल, पिपलचौक लगायत समग्र राजमार्ग पश्चिम क्षेत्रमा जनप्रतिनिधि र दलका नेतालाई प्रवेश गर्न निषेधको घोषणा गरिएको छ । शनिबार चाँदनी चौकको सडक क्षेत्रमै पत्रकार सम्मेलनको आयोजना गरि स्थानीयले राजमार्ग पूर्वलाई झैं पश्चिमलाई अवसरमा समेट्नुपर्ने माग गरेका छन् ।
उनीहरुले नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला, एमालेका नेता तथा त्यस क्षेत्रका संघीय सांसद लालबाबु पण्डित, प्रदेश सांसद तथा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, महानगरका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, विराटनगर–४ का अध्यक्ष देवेन्द्र पोखरेल र ५ का अध्यक्ष मिनकुमार आचार्यलाई आफ्नो क्षेत्रमा हिँडडुल गर्न प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।
हाईवे पश्चिममा राजनीतिक दलका नेता र जनप्रतिनिधिलाई निषेध गरिएको छ, स्थानीय अगुवा उत्तम दाहालले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने–बारम्बार झुक्याउनेलाई टोलमै आउन नदिने हो । आक्रोशित दाहालले यदि जर्बरजस्ती आएमा कालोमोसो दलेर खेदाउने चेतावनी दिएका छन् ।
अर्का स्थानीय प्रेम कार्कीले पाँचवर्ष देखि जामुनगाछी–केशलिया खोलासम्मको ४ किलोमिटर बाटोमा धुलो उडिरहेपनि स्थानीय सरकारले कुनै वास्ता नगरेको गुनासो गर्नुभयो । उहाँले लालबाबु पण्डित र डा.शेखर कोइरालाहरुको निर्वाचन क्षेत्रको दुरावस्था पाँचवर्षसम्म यथावत् रहनु दुःखको कुरा भएको बताउनुभयो ।
ज्येष्ठ नागरिक एवं स्थानीय भोला बन्जराले विराटनगर महानगरपालिकाका मेयर पराजुलीले आफ्नो घर नजिकको वास्ता मासेर बाटो बनाउन सकेपनि जामुनगाछी–केशलिया सडकप्रति पूर्वाग्रह राखेर बजेट नदिएको आरोप लगाउनुभयो । उहाँले महानगर आसपास मात्रै विराटनगर नभएको सम्झन मेयर पराजुलीलाई अनुरोध समेत गर्नुभयो ।
स्थानीयले नेता निषेधित क्षेत्र घोषणा गरेको हाईवे पश्चिममा सरकारी कार्यालयहरुको समेत स्थान्तरण गरिनुपर्ने माग गरिएको छ । पूर्वतर्फको जग्गाको मूल्य बृद्धि हुँदा हाईवे पश्चिमको मूल्य अझैसम्म नबढेको भन्दै गुनासो गरिएको छ ।