विराटनगर हिमालय रोड सौन्दर्यीकरण योजना : स्थानीय व्यापारीले गरे सटर डाउन

<span class='c1'>विराटनगर हिमालय रोड सौन्दर्यीकरण योजना :</span> <span class='c2'>स्थानीय व्यापारीले गरे सटर डाउन</span>

विराटनगर । विराटनगरको मध्यभागमा रहेको हिमालय रोडको सौन्दर्यीकरणको योजनामा स्थानीय घरधनी र व्यापारीहरुले असहमति जनाएका छन् ।

बिहीबार १ घण्टा सटर डाउन गर्दै स्थानीय व्यावसायीहरुले महानगरको उक्त योजनाको विरोध गरेका हुन् । बिहीबार दिनको १२ बजेदेखि १ बजेसम्म हिमालय रोडका व्यापारी, व्यावसायी र बैंंक तथा वित्तीय संस्था सञ्चालक लगायतले उक्त योजना अन्यत्रै सार्नुपर्ने माग सहित सांकेतिक विरोध गरेका छन् ।

सबै प्रक्रिया पूरा गरेर मंसिर ३ विराटनगरको हिमालय रोडलाई सिक्किमको माहात्मा गान्धी रोडकै स्तरमा स्तरोन्नति र सौन्दर्यीकरण गर्ने योजना अघि बढाईएको थियो । निर्माण सुरु भएको एक महिनासम्म आवाज नउठाएका घरधनी र व्यापारीहरु महिना दिन बितेपछि आन्दोलनमै उत्रिएका छन् । महानगरको उक्त योजनाका कारण हिमालय रोडको व्यावसायिक गतिविधि घटने तथा सवारीसाधनको आवागमन प्रभावित हुने उनीहरुको भनाई छ । उनीहरुले उक्त योजना अन्यत्रै पायक पर्ने ठाउँमा सार्न माग गरेका छन् । ‘योजना अन्यत्रै सार्दा ठीक हुन्छ । नभए हामी मार्कामा पर्छौं,’ स्थानीय व्यावसायी सन्तोष दाहाल भन्छन्, ‘निर्माण सुरु गर्दा हामीसँग केही छलफल समेत गरेको छैन महानगरले ।’

विराटनगरको महेन्द्र चौक र ट्राफिक चौक जोड्ने उक्त सडकखण्डमा हाल स्टेशनरी, कम्प्युटर, फोटो स्टुडियो, सिनेमा हाल, होटेल तथा रेष्टुरेन्ट, बैंक तथा वित्तीय संस्था, कुरियर सेवा र हार्डवेयर पसल लगायतका व्यावसाय सञ्चालन हुँदै आएका छन् । महानगरले हिमालय रोडलाई एमजी रोड जस्तै बनाउने अवधारणा अनुसार निर्माण कार्य गरिरहेको छ । तर, स्थानीय व्यावसायीहरु उक्त योजनाप्रति असन्तुष्ट छन् । महानगरको हिमालय रोड सौन्दर्यीकरण योजनाका कारण जनआन्दोलनको मर्म र भावना समेत मेटिने स्थानीय व्यावसायीहरुको बुझाई छ । विगतका विभिन्न राजनितिक आन्दोलन र घटनाक्रमसँग प्रत्यक्ष जोडिएको उक्त सडकखण्डमा कुनै स्थायी प्रकृतिको संरचना निर्माण गर्न नहुने उनीहरुको अडान छ ।

सडक क्षेत्रमा स्थायी प्रकृतिको संरचना निर्माण हुँदा त्यसको प्रत्यक्ष असर स्थानीय व्यापार/व्यावसायमा पर्ने पुस्तक पसल सञ्चालन गरेर बसेका गंगाधर मैनाली बताउँछन् । उनी भन्छन, ‘यातायात अवरोध हुँदा मालसामान ओसारपोसारमा कठिनाई उत्पन्न हुने देखिन्छ । यसका अतिरिक्त सवारीसाधन पार्किङ र आकस्मिक सवारीसाधनको आवागमन लगायतका विभिन्न समस्याहरु उक्त योजनाका कारण सिर्जना हुने अवस्था छ ।’

हिमालय रोडका व्यावसायीहरुले उक्त योजनालाई महानगरपालिका उत्तर पुरानो शनिहाटको बाटोमा सार्न सुझाव दिएका छन् । महानगरले असार २७ गते योजनाको बोलपत्र आव्हान गरेको थियो । विराटनगरकै कला विल्र्डसले ३७.५३ प्रतिशत कम कबोल अङ्कमा योजनाको ठेक्का सम्झौता गरेको छ । कला विल्र्डसले १ करोड ८३ हजार २७२ रुँपैयामा योजनाको ठेक्का लिएको महानगरले जनाएको छ ।

के भन्छन् विराटनगरका मेयर ?
तर, विभिन्न कोणका आशंकालाई महानगरका मेयर भीम पराजुलीले गलत रहेको बताएका छन् । आवर विराटनगरसँग कुरा गर्दै उनले मानवीय चहलपहल बढ्ने गरि ‘स्मार्ट सडक’ को अवधारणा बमोजिम निर्माण प्रक्रिया सुरु गरिएको दाबी गरे । ‘निर्माण हुने संरचनाले कसैलाई प्रभाव पर्दैन । मानवीय चहलपहल बढेसँगै व्यापार पनि बढ्छ,’ उनले भने, ‘सवारीसाधन आवागमनका लागि पनि ठाउँ छुट्याएका छौं ।’

उनले साँझमा सवारी निषेध गरिने भएपनि अन्य समय सवारी आउजाउमा कुनै बाधा नपर्ने बताए । ‘नेपाल बाहिर जाँदा प्रायः विभिन्न ठाउँमा हामीले यस प्रकृतिका स्मार्ट सडक देख्न पाउँछौं । त्यसलाई हेरेर हामीले पनि अपेक्षा राखेका हुन्छौं, मेयर पराजुलीले भने,’ ‘तर, निर्माण नै गर्न नदिएपछि कसरी बन्छ विराटनगर ?’

यो पनि पढ्नुहोस : सर्वत्र आलोचित विराटनगरको हिमालय रोड सौन्दर्यीकरणको योजना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्