राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा ३ सिटका लागि ८ जनाको उम्मेदवारी

<span class='c1'>राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा</span> <span class='c2'>३ सिटका लागि ८ जनाको उम्मेदवारी</span>

विराटनगर । आउँदो माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश १ बाट ३ सिटका लागि ८ जनाको उम्मेदवारी परेको छ ।

आउँदो माघ दोश्रोसाता हुने निर्वाचनमा पाँचदलीय गठबन्धनबाट ३, नेकपा एमालेबाट ३ र राप्रपाबाट २ गरि ८ जनाको उम्मेदवारी परेको हो । मंगलबार विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेसका तर्फबाट अन्यमा झापाका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीका तर्फबाट महिलामा भोजपुरकी जयन्ती राई र जनता समाजवादी पार्टीका तर्फबाट अल्पसङ्ख्यकमा भोजपुरकै हेमराज राई थुलुङले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार प्रदेश १ बाट राष्ट्रियसभा सदस्यको रिक्त ३ सिटका लागि नेकपा एमालको तर्फबाट ३ जनाको उम्मेदवारी परेको छ । अन्यमा मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अल्पसङ्ख्यकमा सोलुखुम्बुकी सोनाम ग्याल्जेन शेर्पाले मनोनयन दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी तिर्थ अधिकारीले बताए ।

उनले राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले छुट्टै मनोनयन दर्ता गराएको जानकारी दिए । राप्रपाको तर्फबाट झापाका अमर विष्टले खुल्ला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी दर्ता गराएको उनको भनाई छ ।

कार्यकाल सकिएर फाल्गुण २० गते प्रदेश १ बाट राष्ट्रियसभा सदस्यको ३ पद खाली हुँदैछ । फाल्गुणमा कार्यकाल सकिन लागेका तीनवटै सदस्य यसअघि एमालेबाट निर्वाचित भएका थिए । एमालेका पर्शुराम मेघी गुरूङ, अगमसिंह वान्तवा र नैनकला ओझा यसअघि निर्वाचित राष्ट्रियसभा सदस्य हुन् ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभाका ९२ जना सदस्य र स्थानीय तहका २७२ जना प्रमुख तथा उप–प्रमुखले मतदान गर्नेछन् ।

कसको मतभार कति ?
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा स्थानीय तहका प्रमुुख, उप–प्रमुख र प्रदेशसभाका सदस्य गरि कुल प्रदेश १ मा ३६४ मतदाता छन् ।

निर्वाचनमा प्रदेशसभाका ९३ जना मतदाता हुनुपर्नेमा टङ्क आङ्बुहाङ माओवादी केन्द्रको कारबाहीमा परेपछि हाल उनको पद रिक्त रहेको छ । बाँकी १३७ स्थानीय तहमा २७४ मतदाता हुनुपर्नेमा २ जनाको निधन भएको कारण स्थानीय तहको कुल मतदाता २७२ मात्र हुन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउँपालिकाका अध्यक्ष ङिम दोजी शेर्पा र भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएकाले उनीहरुको पद रिक्त छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानूनी व्यवस्था छ । जसअनुसार प्रदेश १ मा ९२ प्रदेशसभा सदस्यहरुको मतभार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८९६ गरि जम्मा कुल मतभार ९ हजार ३१२ रहेको छ  ।

प्रदेश १ मा नेकपा एमालेका जनप्रतिनिधिहरुको कुल मतभार ४ हजार ५२४ छ भने पाँचदलीय गठबन्धनको कुल मतभार ४ हजार ६६८ छ । जसमा गठबन्धनमा आबद्ध नेपाली काँग्रेसको २ हजार ७३६, नेकपा माओवादी केन्द्रको १ हजार ८, नेकपा (एकीकृत समाजवादी) को ६६०, जनता समाजवादी पार्टीको २१६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार छ ।

प्रदेशमा नेपाली कांग्रेससँग प्रदेशसभा सदस्य २१ तथा स्थानीय तहका मतदाता प्रतिनिधि ९६ रहेका छन् । कांग्रेससँग स्थानीय तहका प्रमुख र उप–प्रमुख गरि ९६ जनाको १ हजार ७२८ तथा प्रदेशसभामा २१ जना सांसदको १००८ गरि कुल २ हजार ७३६ मतभार छ ।

नेकपा माओवादी केन्द्रसँग पनि १५ जना प्रदेशसभा सदस्य र १६ जना स्थानीय तहका मतदाता प्रतिनिधि छन् । माओवादीको जम्मा मतभार १ हजार ८ छ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) सँग प्रदेशसभामा १० सांसद र स्थानीय तहमा १० जना मतदाता प्रतिनिधी छन् । यसरी एकीकृत समाजवादीको जम्मा मतभार ६६० छ ।

प्रदेशसभा सदस्य ३, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष २ रहेको जनता समाजवादी पार्टीसँग २१६ मतभार छ भने अध्यक्ष ३, उपाध्यक्ष १ र प्रदेशसभा सदस्य १ रहेको राप्रपासँग १२० मतभार छ । प्रदेशसभामा १ सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग ४८ मतभार रहेको छ । प्रदेशमा गठबन्धन र एमालेबाहेक राप्रपासँग १२० मतभार रहेको छ ।

यसअघि राप्रपाले नेकपा एमालेलाई सघाउन सक्ने अनुमान गरिँदै आईएको थियो । सोमबार विराटनगरस्थित एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उप–महासचिव तथा प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले यसको पुष्टि गरेका थिए । यद्यपि मंगलबार अन्तिम क्षणमा राप्रपाले एमालेसँग सहकार्य नगरि छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्