विराटनगर । एकजना प्रहरी जवानको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको मुख्य आरोपी भनिएका मनोज पौडेल जेल चलान भएका छन् ।
विराटनगरस्थित जिल्ला अदालत मोरङको आदेशले उनी पुर्पक्षका लागि जेल चलान भएका हुन् । सोमबार जिल्ला न्यायाधीश दुर्गा खड्काको इजलासले पौडेललाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको हो । उनीमाथि नाबालिकलाई यौन दुव्र्यवहार गरेको आरोप छ । मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माध्यामिक विद्यालयमा गएको चैत्र ६ गते आफ्नै विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीमाथि जबरजस्ती करणी उद्योगको कसुरमा जिल्ला अदालत मोरङमा मुद्दा चलाईएको थियो । मुद्दा चलाईएपछि प्राप्त प्रमाणको आधारमा सोमबार आएको अदालतको फैसलाले उनी जेल चलान भएका हुन् ।
घटनापछि विद्यालयमा शिक्षकलाई पक्राउ गर्नुपर्ने माग सहित आन्दोलनरत विद्यार्थीहरुको समुहले विद्यालयमा आगजनी तथा तोडफोड गरेका थिए । घटनामा नागरिकको सुरक्षामा खटिएकी वर्ष २६ की प्रहरी जवान उर्मिला श्रेष्ठको आक्रमणमा परी ज्यान गएको थियो । पछि प्रहरी जवान श्रेष्ठको गोली लागेर ज्यान गएको पोष्टमार्टम रिपोर्टबाट खुलेको छ ।
यता उक्त घटनामा प्रत्यक्ष संलग्नताको आरोपमा प्रहरीले कर्तव्य ज्यान मुद्दाको कसुरमा १५ मध्ये १० जनालाई पक्राउ गरिसकेको छ । बाँकी ५ जना फरार छन् । उनीहरुमाथि हाल जिल्ला अदालत मोरङमा थुनछेक बहस अहिले चलिरहेको छ । उक्त मुद्दाको आदेशपनि मंगलबार नै आउने बताईएको छ ।