विराटनगर । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेश नं. १ का ११ जिल्लामा स्वस्थ प्रतिस्पर्धा र तालमेल गर्ने गरि भागबण्डा टुङ्गयाएको छ ।
नेकपा एमालेले जित्नसक्ने सम्भावना रहेका जिल्लाहरुमा आवश्यक तालमेल गरि गठबन्धनले भागबण्डा टुङ्गयाएको हो । गठबन्धनले जित्ने सम्भावना रहेको २१ स्थानीय तहमा सहमति हुन नसकेर र स्वस्थ्य प्रतिस्पर्धा गर्ने निर्णय भएको नेकपा (माओवादी केन्द्र) प्रदेश नं. १ का उपाध्यक्ष शिवकुमार डाँगीले बताए । उनले सुनसरी, मोरङ र उदयपुरमा सहमति हुन बाँकी रहेको जानकारी दिए ।
स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर हाल तालमेलको ३ वटा मोडेलमा काम भईरहेको गठबन्धनले जनाएको छ । जसमा कांगे्रसले जितेको ठाउँमा स्वस्थ प्रतिस्पर्धा गर्ने सहमति भएको छ । सहमति अनुसार तालमेलको सवालमा प्रदेशका १३७ स्थानीय तहमध्ये ६० ठाउँमा कांगे्रस, २० ठाउँमा वटा माओवादी र ३ ठाउँमा एकीकृत समाजवादीको नेतृत्वमा निर्वाचनमा जाने तयारी गरिएको छ । मोरङ र सुनसरीको सवालमा भने अझै पनि छलफल जारी रहेको जनाईएको छ । मोरङ र सुनसरीमा भने कांग्रेस कसैसँग तालमेल नगरी एक्लै चुनावमा जाने रणनीतिमा रहेको श्रोतको दाबी छ । श्रोतको भनाई उदृत गर्दै माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष डाँगीले भने, ‘यी दुई जिल्लामा कांग्रेस एक्लै चुनावमा जाने तयारीमा रहेको बुझिएको छ । माओवादीको फोन नउठाउने छलफल नगर्ने भईरहेको छ । कांग्रेसले त्यस्तो गर्यो भने माओवादीले अर्को कठोर निर्णय गर्छ ।’
तालमेल मिलेका स्थानीय तहका उम्मेदवारहरुले भने निर्वाचन कार्यतालिका अनुसार आज आईतबार आ–आफ्नो मनोनयन दर्ता गर्दैछन् ।