विराटनगर । विराटनगरका चार जना उम्मेदवार विरुद्धको सबै उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले बदर गरेको छ ।
उजुरीकर्ताद्वारा दिईएको निवेदनमा उल्लेखित बिषयवस्तु लगायतका प्रमाण नजुटेपछी कार्यालयले चारै जनाको उम्मेदवारी सदर गरेको हो । विराटनगरमा नेकपा (एमाले) बाट उप-मेयर पदकी उम्मेदवारी शिल्पा कार्की, वडा नं. १३ की महिला वडा सदस्यकी उम्मेदवार गौरी कुमारी वैश्य, जनमत पार्टीबाट वडा नं. ८ को महिला दलित सदस्य पदकी उम्मेदवार गीता मुखिया र काँग्रेसबाट उम्मेदवारी दिएकी सहनी विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।
उप-मेयरकी उम्मेदवार कार्की विरुद्ध कोशी अस्पताल विकास समितिको सदस्य पदमा रही उम्मेदवारी दिएको आरोपमा जसपा महानगर कमिटी अध्यक्ष अमरेन्द्र यादवले उजुरी दिएका थिए । यस्तै, वडा नं. १३ की महिला सदस्य पदकी उम्मेदवार ५० बर्षीया गौरी विरुद्ध अदालतले तोकेको दण्ड जरिवाना नबुझाएको र वडा नं. ८ को महिला दलित सदस्य पदकी उम्मेदवार गीता तथा सीता विरुद्ध दलित जातीभित्र नपर्ने भनी उजुरी परेको थियो । तर, छानबिनका क्रममा प्रमाण नजुटेपछी कार्यालयले उनीहरुको उम्मेदवारी सदर गरेको हो ।
मुख्य अधिकृतको कार्यालयले उम्मेदवारहरुको प्रारम्भिक नामावली बिहीबार अपरान्ह सार्वजनिक गरेको थियो । कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार उम्मेदवारहरुको फाईनल नामावली बिहिवार राती सार्वजनिक गरिने छ ।
हाल भने उम्मेदवारी रुजु गर्ने कार्य भईरहेको जनाईएको छ ।