विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलहरुको भरोसा नभएको बताउनु भएको छ । विराटनगरमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले कुनै भरोसा नभएको गठबन्धन वडामा समेत एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको बताउनु भएको हो ।
‘वडास्तरमा एक्लै चुनाव लड्न नसक्ने दलहरुहरुले देश बनाउने कुरा संभव छैन’ अध्यक्ष ओलीले भन्नुभयो–पाँच दललाई एमाले एक्लै काफी छ । उहाँले विराटनगरको मेयरमा ओहोदा बुझ्नसक्ने व्यक्ति निर्वाचित गराउन विराटनरवासीसँग अपिल समेत गर्नुभयो ।
उहाँले ऐतिहासिक महत्व बोकेको विराटनगरको विकास र सौन्दर्यकरण एमालेले मात्रै पूरा गर्नसक्ने बताउँदै त्यसका लागि स्थानीय सरकारमा भरपर्दो उमेदवार निर्वाचित हुनुपर्नेमा ओलीको जोड थियो । ‘जनप्रतिनिधि गतिलो भए मात्रै माथिका योजना ल्याउन सक्छन्’ अध्यक्ष ओलीले भन्नुभयो–त्यसका लागि आफूले पाएको ओहोदा बुझ्न सक्ने सक्षम व्यक्ति कुर्सीमा बस्नुपर्छ ।
गठबन्धन दलहरु एक अर्कालाई अति घृणा गर्दै एकले अर्कोको बाध्यात्मक प्रशंसामा हिँडिरहेको अध्यक्ष ओलीको आरोप थियो । ‘मुटुमाथि ढुंगा राखि हाँस्नु परिया छ’ भने झैं हुन् गठबन्धन, अध्यक्ष ओलीले भन्नुभयो–‘भोलि कहाँ जाने कुनै टुङ्गो छैन ।’
उहाँले सरकारमा भएको पार्टीका नेताले फ्रि भिसा–फ्रि टिकटमा मलेसिया पठाउँछु भन्दै भाषण गर्नु निर्वाचन आचारसंहिता विपरित भएको बताउनुभयो ।
उहाँले अहिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आफैं कमजोर बनाएको आरोप लगाउँदै ढोडको लौरो टेकेर सगरमाथा चड्न नसकिने बुझ्न आग्रह गर्नुभयो । एमालेमा भएका बिरालाहरु काँग्रेसको भान्सामा पसेर ‘म्याउँ’ कराईरहेको भन्दै नेता माधव नेपालप्रति कटाक्ष व्यक्त गर्नुभयो ।
एमालेसँग विकास र समृद्धिको स्पष्ट भिजन रहेको बताउँदै अध्यक्ष ओलीले परिवर्तनका लागि केहि गरेको दावी गनुृभयो । उहाँले मतदाताले काम गरेका दलका नेताहरुलाई कुर्सीमा बसाउने र त्यहाँबाट विराटनगरको विकासले गति लिने बताउनुभयो ।
विराटनगर द्वापर युगदेखिको इतिहास बोकेको राजनीतिक, औद्योगिक र आधुनिक शहर भएको बताउँदै त्यसको संरक्षण र जगेर्ना एमालेले मात्रै गर्नसक्ने उहाँको जिकीर थियो । यसको साख फर्काउनका लागि एमालेलाई यहाँका मतदाताले विश्वास गर्नुपर्नेमा उहाँको जोड थियो ।
एमालेबाट विराटनगर मेयरका उमेदवार सागर थापाले निर्वाचनलाई नागरिकले मतदानको अवसरसँगै विकासको ढोका खोल्ने दिनको रुपमा बुझ्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगत पाँचवर्षमा विराटनगरको साख देशभरका ठूला शहरमा खुम्चिन पुगेको बताउँदै त्यसलाई फर्काउने अवसर दिन माग गर्नुभयो । विराटनगरको रिङ्ग रोड २०५४ सालमा एमालेका तत्कालिन मेयर रमेशचन्द्र पौडेलको पालादेखि निर्माण सुरुवात भएको भएपनि अहिलेसम्म गति लिन नसकेको बताउँदै थापाले त्यसलाई आफू मेयरमा निर्वाचित भए पूरा गर्ने दावी गर्नुभयो ।