विराटनगर । उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाईते भएका छन् ।
मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट विराटनगरतर्फ गुडेकाे बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।
दुर्घटनामा परेका घाईतेमध्ये मोरङको विराटनगर महानगरपालिका– ५ चाँदनी चोक बस्ने ३४ वर्षिय देबेन्द्र चापागाईको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा राती करिब ११ बजे नै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो । दुर्घटनामा घाईते भएकाहरुलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो हस्पिटल रिफर गरिएको छ ।
दुर्घटनामा परेका घाईतेहरु मोरङ विराटनगर महानगरपालिका– ५ चाँदनी चोकका चालक ३१ वर्षिय बिशाल राय, २३ वर्षीय सुजन खतिवडा, २७ वर्षिय सागर घिमिरे र ३५ वर्षिय सुरज पौडेल रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए ।
दुर्घटना हुनेबित्तिकै प्रहरी चौकी नेपालटार र स्थानीयबासीको सहयोगमा उद्धार गरी अस्पताल पठाउने काम भएको स्थानीयबासीले बताए । मृतक चापागाईको शव भने जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ ।