विराटनगर । दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जिल्लाभरी सचेतना अभियान सुरू गरेको छ ।
मोरङको प्रत्येक ट्राफिक पोष्टहरूमा ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले चालक र सहचालकहरूलाई सचेतना अभियानमा सहभागी गराउने गरेको हो । विराटनगरको ट्राफिक चौकमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयसहित मोरङको २० वटा ट्राफिक पोष्टहरूमा ट्राफिक सचेतना अभियान सुरू गरेको मोरङका ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो ।
सचेतना अभियानमा ट्राफिक प्रहरीले सडक शुसानदेखि ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणको उपायहरूको विषयमा जानकारी गराउने गरेको छ । ‘ट्राफिक नियमको पालना गराउँदै सवारी दुर्घटनलाई न्यूनिकरण गर्र्ने उद्देश्यले जिल्लाभरीमा ट्राफिक सचेतना अभियान सुरू गरेका हौं,’ट्राफिक प्रहरी निरीक्षक कार्कीले भन्नुभयो, ‘ सिनियरदेखि जुनियर प्रहरी अधिकृतहरूले ट्राफिक सचेतनामा खटिएका छन् ।’ ट्राफिक सचेतना अभियान जिल्लाभरी एकसाथ सुरु गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
विराटनगरमा आवश्यक भन्दा बढी सिटी सफारीको कारणले सडक हस्तब्यस्त हुन थालेपछि यसको व्यवस्थापनको लागि ट्राफिक प्रहरीले छुट्टै अभियान सुरू गरेको छ । विराटनगर महानगरपालिका भित्र ४ हजार ५ सय सिटी सफारी रहेका छन् । अहिले यहाँका सफारी चालकहरूलाई दैनिक रूपमा ३० देसिख ५० जनासम्मको समूहलाई ट्राफिक नियम, सडक अनुशासनको बारेमा सचेतना गराउन सुरु गरिएको छ ।
विराटनगर महानगरपालिका भित्र सवारी चालकहरुलाई दैनिक बिहान ९ देखि ११ बजेसम्म प्रशिक्षण दिने गरिएको छ ।
उनीहरुलाई सुरक्षित सडक प्रयोग, ट्राफिक संकेत, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु र सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ मा रहेको कानुनी ब्यवस्थाहरु सम्बन्धमा सैद्धान्तिक प्रशिक्षण दिइने गरेको छ । ३ पाङग्रे सवारी साधन संचालन, दर्ता प्रकृया लगायतका मापदण्डका बिषयमा पनि जानकारी गराइन्छ ।