संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा बुधबार बिहान ११ बजे अचानक माथिबाट सुख्खा पहिरो झरेर पुरिदा दुईजनाको मृत्यु भएको हो ।
सडक निर्माण कार्यमा खटिएका सुनसरी धरानका ३५ बर्षीय राम कुमार राई र चौदण्डीगढी नगरपालिका–६ उदयपुरका २० बर्षीय हेम बहादुर मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई पहिरोमा पुरिएका दुबै जनाको शव निकालेर परीक्षणको लागी जिल्ला अस्पताल खाँदवारी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।