विराटनगर । झापाका विभिन्न स्थानहरुबाट मोटरसाईकल चोरीमा संग्लग्न रहेका ८ जना र चोरी भएका १२ थान मोटरसाईकल सहित पक्राउ परेका छन् ।
केही दिन देखि झापाका विभिन्न स्थानहरुबाट मोटरसाईकल हराएको भन्ने सूचना पाएसँगै चोरीमा सग्लग्नहरु तथा हराएका मोटरसाईकलहरुको खोजतलासमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरी आजै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा टिकुली नगरपालिका-५ सप्तरीका २७ बर्षीय करण महमद, झापाको गौरिगञ्ज गाउँपालिका-५ का १८ बर्षीय ओम प्रकाश यादव, अर्जुनधारा नगरपालिका-८ का १८ बर्षीय समिर मिया, बिर्तामोड नगरपालिका-५ का १८ बर्षीय बिष्णु भण्डारी र करण मण्डल यसैगरी बिर्तामोड नगरपालिका-३ का १९ बर्षीय कुमार राजवंशी तथा १८ बर्षीय सुमन बिहारी र ईलाम चुलाचुलीका १८ बर्षीय राहुल श्रेष्ठ रहेका छन् ।
पक्राउ परेको यो समुहले अशोक विहारीको अर्जुनधारा नगरपालिका-८ कदमगाछीमा रहेको ग्यारेज भित्रबाट र अर्जुनधारा - १० को अर्को मोटरसाइकल ग्यारेजबाट तथा झापाको अन्य विभिन्न स्थानवाट मोटरसाईकल चोरी गरेका थिए । यसरी चोरी भएका १२ थान मोटरसाईकल सहित पक्राउ परेको यो समुहको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।