जापानमा आगामी जुलाई १० मा माथिल्लो सदनको निर्वाचन हुने भएको छ । माथिल्लो सदनका सदस्यहरु छनौटका लागि निर्वाचन गर्ने निर्णय भएको प्रधानमन्त्री फुमिओ किशिदाले बुधबार जानकारी दिनुभयो ।
निर्वाचनको प्रचार अभियान भने यही जुन २२ देखि मात्रै सुरु गर्न पाइने भएको छ । त्यसका लागि दलहरुले भने अबदेखि नै तयारी थाल्ने भएका छन् । जापानको माथिल्लो सदनलाई ‘हाउस अफ काउन्सिलरस’ पनि भनिन्छ भने तल्लो सदनलाई प्रतिनिधि सभा भनिन्छ ।
जापानको माथिल्लो सदनमा २४५ जना सदस्य हुनेछन । उनीहरुको कार्यकाल छ वर्षको हुनेछ । माथिल्लो सदनका सदस्यहरुको कार्यकाल तल्लो सदनका सदस्यहरुको भन्दा दुई वर्ष बढी हो ।
यसैगरी, माथिल्लो सदनको सदस्य बन्नका लागि कम्तीमा ३० वर्षको हुनुपर्नेछ, जवकी तल्लो सदनको सदस्य हुनका लागि कम्तीमा २५ वर्षको भए पुग्ने व्यवस्था छ । रासस / सिन्ह्ना