विराटनगर । आइतबार बिहान खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्पले भोजपुर र खोेटाङ जिल्लाका केही घरमा क्षति पुगेको छ ।
आईतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मार्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ रेक्टरस्केलको भूकम्प गएको थियो । भोजपुर नगरपालिका–१२ टक्सारस्थित प्रमोद हलवाईको पुरानो जिर्ण अवस्थामा रहेको घर भत्किएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनराज राईका अनुसार भूकम्प आएपछि घरमा कोही पनि नबस्ने भएका कारण जिर्ण रहेको घर भुकम्पको धक्काले भत्किएको हुनसक्छ । उहाँले हालसम्म भूकम्पबाट कुनै क्षति भएको विवरण आईनसकेको बताउनुभयो । खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएका कारण खोटाङमा पनि केही घरमा क्षति पुगेको जनाइएको छ ।
खोटाङका स्थानिय सञ्चारकर्मी दमन राईका अनुसार मात्तिमबिर्तामा एक घर चर्किएको र एक घरको टायल खसेको छ । यस्तै, हलेसी तुवाचुङ–७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको राईले जानकारी दिए । उता खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले हालसम्म मानवीय क्षतिको विवरण नआएको बताए। क्षतिको विवरण संकलन भइरहेको उनको भनाइ छ। पूर्वी नेपालसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ ।