सुजता लिम्बु
विराटनगर । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मंसिर ४ गतेलाई तोकिएपछि यतिबेला नेताहरु गाँउ पस्न थालेका छन् । काम विशेष वा कुनै कार्यक्रम विशेषले मात्रै आफ्नो निर्वाचन क्षेत्र पुग्ने प्रमुख दलका नेता तथा कार्यकर्ताहरु चुनावी माहोललाई आफ्नो पकड बनाउन भेटघाट साथै छलफलमा दैनिक जस्तो जुटिरहेका छन् ।
पार्टी प्रवेश गर्ने, त्याग्नेको लहर पनि उत्तिकै चलिरहेको छ । भने, राजनीतिक विशेष प्रशिक्षणका गतिविधि पनि दिनहुँ जस्तो हुन थालेको छ । देशैभरका नेता तथा कार्यकर्तालाई चुनावी माहोलले छोईसकेको छ ।
प्रदेश १ को राजधानी विराटनगरमा पनि चुनावी चहलपहल उत्तिकै बढीरहेको छ । राजनीतिक साथै आर्थिक गतिविधिको हिसाबले पनि चर्चाको स्थान ओगटेको विराटनगर देशको शिर्ष नेता गिरिजा प्रसाद कोइराला, मनमोहन अधिकारीदेखि वर्तमान अवस्थामा कोइराला परिवारको विरासत थामेर बसेका शेखर कोइरालासम्मको थलोको रुपमा चिनिन्छ । पछिल्लो समय निर्वाचन आयोगले आगामी मंसिर ४ गते निर्वाचनको मिति तय गरेसँगै प्रदेशसभा र प्रतिनिधि सभाका लागि व्यापारिक घरानाका देखि लिएर ‘हेवी वेट’ का नेताहरुसम्म चुनावी मैदानमा उत्रिने तरखरमा छन् ।
०७४ सालमा प्रतिनिधि र प्रदेशसभाका लागि निर्वाचित भएका प्रतिनिधिहरुको कार्यकाल सकिन लागेको छ । कार्यकाल सकिनै लाग्दा आफूहरुले चुनेर पठाएको प्रतिनिधिप्रति स्थानीय नागरिकहरु भने असन्तुष्टि व्यक्त गरिरहेका छन् । सुनसरी इटहरीका रमेश पोखरेल राजनीतिक दलहरुको अहमताले देशमा संघीयता आएको भए पनि त्यसको अनुभूती गर्न नपाएको बताउनुहुन्छ । सुनसरी घर भए पनि विराटनगरलाई कार्यक्षेत्र बनाएर बस्दै आउनुभएको उहाँले निर्वाचित भएर आफू ठाँउमा पुगिसके पछि प्रतिवद्धता बिर्सने बानी नेताहरुमा रहेको बताउनुहुन्छ । ‘दलका कुनै पनि नेता तथा नेतृत्व जनता र देश प्रति उत्तरदायी देखिएन’,उहाँ भन्नुहुन्छ,‘पाँच वर्षसम्म आफ्नो कार्यकर्ता खुशी पार्न र कुर्सी जोगाउन तर्फ मात्रै नेतृत्वहरु लागिपरे, जनताको दुख त उही ज्युँका त्युँ ।’ जनताको अपेक्षा र भावना अनुसार दलका नेताले काम नगरेकै कारण पार्टीगत नेतृत्व प्रति वितृष्णा छाएर पनि स्थानीय निर्वाचनमा जनताले स्वतन्त्र उम्मेद्धार रोजेको बताउदै उहाँले भन्नु भयो,‘अब जनताको भावना र मर्म अनुरुप काम गर्ने नेतृत्व हामीले नै चुन्न जरुरी रहेको छ, जहाँ नेताको गुटबन्दी भन्दा पनि स्वतन्त्र भएर काम गर्न सक्ने नेतृत्व होस ।’
यस्तै विराटनगर १२ निवासी सशिकला लम्साल चुडाल पछिल्लो पाँच वर्षमा नेतृत्वहरुको काम देखेर जनालाई पार्टीगत नेतृत्वहरु प्रति वितृष्णा छाएको बताउनुहुन्छ । अपेक्षा अनुसार र एजेन्डोमा टेकेर नेतृत्वले काम गर्न नसक्दा नै स्वतन्त्र उम्मेद्धारहरुको आवश्यकता पर्न गएको उहाँको तर्क छ ।
उहाँ भन्नुहुन्छ,‘स्थानीय निर्वाचनमा प्रतिनिधि घटना देखियो जस्तै धरान, काठमाण्डौ, धनडढी यो त सुरुवात मात्रै हो दलको नेताहरु नसुध्रिने हो भने अबका दिनमा स्वतन्त्र निष्पक्ष नेतृत्वको खोजि गर्न जनता पछि हट्दैनन ।’
यता विराटनगर—९ का करण बोखिम पाँच वर्षको अवधीमा स्थानीय स्तरमा डोजरे विकास पुगेको भए पनि अपेक्षा अनुरुपका काम भने खासै हुन नसकेको बताउनुहुन्छ । विदेशी लगानीमा भएका विकासहरुलाई विकासको नाम दिन बाध्य बन्नुपर्ने अवस्था रहेको बताउनुहुने उहाँ भन्नुहुन्छ,‘पाँचवर्षको अवधिमा दलगत हिसाबले चुनिएर गएका नेता, नेतृत्वहरुले प्रशंसा गर्न लायकका कुनै पनि काम गर्न सकेका छ्रैनन् ।’
पार्टीका नेताहरुको गतिविधिले वितृष्णा छाएको आफूहरु जस्ता नागरिकले अब आउने निर्वाचनमा हाम्रोलाई भन्दा पनि प्रतिनिधि मूलक काम गर्ने राम्रोलाई रोज्नपर्नेमा उहाँ जोड दिनुहुन्छ ।
विराटनगर मिल्स एरियाका सुरेश क्षेत्री २३ वर्षको हुनुभयो । उहाँको आफ्नै व्यवसाय छ । बिहीबार दिँउसो गुद्री बजारमा सब्जी (तरकारी) खरिद गर्दै गर्दा भेटिनुभएको उहाँलाई आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनको विषयमा जिज्ञासा राख्दा ०७४ मा चुनेर पठाएको प्रतिनिधिहरुले आश लाग्दो कुनै पनि काम राम्रो सँग नगरेको गुनासो गर्नुभयो ।
दलभित्रको टुटफुट र कुर्सी जोगाउको दाउमा लागेका नेतृत्वले जनताको भावना विपरितका काम बाहेक अन्य काममा सिंको नभाचेको उहाँको भनाई थियो । निर्वाचनको समय गाँउवस्तीमा पस्ने नेताहरुले अब फेरी जितेर गएर केही काम नगर्ने तर्क राख्दै उहाँ भन्नुहुन्छ,‘अब पनि हामी जनता सुध्रिएनौ भने अबको पाँच वर्ष पछि पनि नेताले केही गरेरन भनेर चिच्याउनुपर्छ ।’ उहाँ थप्नुहुन्छ,‘अब जनप्रतिनिधि रोज्दा हामी नागरिकले नै ध्यान दिन आवश्यकता छ जसरी धरान, काठमाण्डौ र धनगढीका जनताले परिवर्तनको बाटो रोजे त्यसै गरी ।’