विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मोरङ काँग्रेसमा टिकट लिनेको ताँती पछिल्लो १५ दिनयता काठमाण्डौं केन्द्रीत थियो । सबैले आ–आफ्नो दावी गरिरहेका थिए । राजनीतिमा सक्रिय हुनेहरुले निर्वाचनमा जनप्रतिनिधिमा चुनिने लक्ष्य सामान्य थियो । तर, मोरङमा काँग्रेसका नेताहरुमध्ये पनि विराटनगर महानगरपालिका पूर्व मेयर भीम पराजुलीले टिकट लिएको विषय एकाएक नयाँ मोडमा पुग्यो ।
पराजुलीले निर्वाचन क्षेत्र नम्बर ४ (ख)बाट प्रदेशसभा निर्वाचनका लागि टिकट पाएका छन् । त्यसका आधारमा मनोनयन समेत गराईसकेका छन् । उनी विरुद्ध कुनै उजुरी पर्ने संभावना बाहेक गठबन्धनकातर्फबाट प्रदेशसभा सदस्यका उमेदवार पक्का भईसकेका छन् । यद्यपी सत्ता गठबन्धन भित्रकै एकिकृत समाजवादीका नेता महेश रेग्मीले पनि त्यहि क्षेत्रबाट उमेदवारी दिएका छन् । यस विषयमा पराजुलीले केन्द्रीय नेतृत्वले गरेको सहमति अनुसार आफ्नो उमेदवारी परेकोले त्यो विषय पनि उतै मिलेर आउने प्रतिक्रिया दिए ।
पराजुलीसँग खास जोडिएको विषय भने फरक थियो ।
त्यो हो नेपाली काँग्रेसको गत असार २९ गते केन्द्रीय समिति बैठकमा उनले राखेको लिखित धारणा र त्यसको बुँदा नम्बर ३ मा उल्लेखित कुरा । पराजुलीका बाँकी कुरा तपशिलमा छोडेर उनले बुँदा नम्बर ३ मा उल्लेख गरेको कुरा बारे मनोनयन दर्तासँगै नयाँ बहस पैदा भयो । त्यो हो ‘प्रदेश खारेजीको माग राख्ने नेताकै प्रदेशमा मनोनयन किन ?’
पराजुलीले काँग्रेस केन्द्रीय समिति बैठकमा राखेको लिखित धारणाको बुँदा नम्बर ३ मा ‘यस्तै अवस्थामा प्रदेश सरकार चलिरहे देशमा यो भन्दा ठूलो बेथिती र जनतामा बितृष्णा, नैरस्यता, बढ्दै गई चरम आर्थिक संकट निम्तिने खतरा बढ्ने देखिन्छ । प्रदेश सरकार कि बलियो बनाउन नभए हटाउ ’ भनेर उल्लेख गरिएको छ ।
पराजुलीले प्रदेश सरकारको सञ्चालनमा संघीय सरकारले बारम्बार अंकुश लगाउँदै आएकोले त्यसलाई खुकुलो बनाएर अधिकार सम्पन्न बनाउनु पर्ने धारणा राखेको बताएका छन् । उनले आफूले हटाउनु पर्ने मात्रै नभनेर ‘बलियो बनाउन सकिदैन भने हटाउ’ भनेको बताएका छन् । तर, त्यस विषयमा मनोनयन गरेपछि बढी भ्रम पार्न खोजिएकोप्रति पराजुलीले चिन्ता व्यक्त गरे ।
उनले संविधान अनुसार संघीय निजामती ऐन नआउँदा प्रदेश सरकारलाई असजिलो परेको, प्रहरी ऐन नआउँदा अफ्ठ्यारो परेको र प्रदेश सरकारका मन्त्रालयमा खटिने सचिव समेत संघीय सरकारले हेरफेर गर्ने गरेको कुरा चित्त नबुझ्दो रहेको बताए । उनले आफू निर्वाचित भएर त्यहाँ पुग्दा प्रदेश संरचनालाई बलियो बनाउन हरदम प्रयास गर्ने बताएका छन् ।
उनी एमालेका जीवन घिमिरेसँग प्रतिस्प्रर्धामा उत्रिएका छन् । यद्यपी घिमिरे प्रदेशको सामाजिक विकास मन्त्री हुँदा उनी विराटनगरका मेयर भईसकेका थिए । यो बीचको कामलाई तुलना गर्दा पराजुली भन्दा घिमिरे नै बढी सफल मानिएका छन् ।