विराटनगर । विराटनगर महानगरपालिकामा लामो समय कार्यकारी अधिकृतको रुपमा काम गरेका नेपाली काँग्रेस प्रदेश समिति सदस्य गोपालप्रसाद रेग्मीले प्रदेशसभा निर्वाचनमा उमेदवारी दिएपछि यसको चर्चा व्यापाक बनेको छ । काँग्रेस विरुद्ध बागी उम्मेदवारी दिएका उनी मोरङ निर्वाचन क्षेत्र नम्बर ६(२) का मतदातासँग मत माग्न थालेका हुन् ।
निर्वाचन आयोगबाट ‘लालटिन’ चुनाव चिन्ह प्राप्त गरेका उनी गठबन्धनका तर्फका साझा उम्मेदवार काँग्रेस नेता तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीविरुद्ध उत्रिएका छन् । उनको उमेदवारीले काँग्रेस भित्र र बाहिर पनि संभावना बोकेको व्यक्तिको रुपमा चर्चा हुन थालेको छ ।
विराटनगर महानगरपालिकामा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुँला रेग्मीले विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । विराटनगरको आजको विकासमा रेगमीको सक्रियता जोडिएको छ । परियोजना अन्तरगत २ अबै ५० करोड रुपैयाँ भन्दा बढी बजेट ल्याउन उनकै पालमा पहल भएको थियो । जुन बेला जनप्रतिनिधि थिएनन् ।
साँघुरो विराटनगरलाई चौडा बनाउने अभियानमा लागेका उनको तत्काल केहि आलोचना भएपनि आजको विराटनगरको विकाससँग उनकै नाम जोडेर प्रशंसा गरिने गरिएको छ । उनको उमेदवारीसँगै काँग्रेसका नेता कार्कीलाई असर पर्ने संभावना देखिएको छ । रेग्मीले स्थानीय तह निर्वाचनमा विराटनगरको महानगरपालिकाको मेयर बन्ने मनसाय प्रकट गरेका थिए । तर, त्यहाँ टिकट नपाएपछि उनी प्रदेशसभा पर्खेर बसेका थिए । पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उमेदवार बनेका हुन् । उनले आफ्नो उमेदवारी फिर्ता लिन मानेनन् । जसको प्रभाव आम मतदातासम्म सकारात्मक पर्ने दावी छ ।
यो निर्वाचनमा क्षेत्रमा नेकपा एमालेका पर्शुराम बस्नेत उमेदवार छन् । मुख्य प्रतिस्प्रर्धी काँग्रेसका कार्की र एमालेका बस्नेत हुने अनुमान गरिएपनि रेग्मीको उमेदवारले वैकल्पिक व्यक्तिलाई रोज्न पाउने ठाउँ दिइएको छ ।