विराटनगर । विराटनगरको एक रेष्टुरेन्टबाट अनलाईन मार्फत होम डेलिभरी गरिएको खानेकुरामा मरेको साङ्लो भेटिएको छ ।
विराटनगर १ निवासी कविता बरालले अनलाईन मार्फत होम डेलिभरी खरिद गरेको चिकेन चिल्लीमा साङ्ला फेला परेको हो । विराटनगर ४ कञ्चनबारी उत्तर धिताल पेट्रोल पम्प नजिकै रहेको शुभ ब्याङ्वेट एण्ड रेष्टुरेन्टले तयार गरेको चिकेन चिल्लीसँगै पाकेको साङ्ला भेटिएपछि बरालका परिवारमा बिहीबार दिनभर दिङमिङ्गको तनाव झेल्नुपर्ने बाध्यता परेको थियो ।
विराटनगरमा रहेको क्विकर फुडमार्फत् बरालले खरिद गरेको चिकेन चिल्ली प्याक खोलेर खानेक्रममा साङ्ला भेटिएपछि उनले आवर विराटनगरलाई खबर गरेकी थिईन् ।
हामीले उनको घरैमा गएर हेर्दा चिकेन चिल्ली भित्र मरेको साङला नै भेटिएपछि तत्काल बरालले विराटनगर महानगरपालीका र खाद्य तथा गुण नियन्त्रण कार्यलयलाई उजुरी गरेकी थिईन् ।
बरालको उजुरीका आधारमा विराटनगर महानगरको आर्थिक विभाग महाशाखा प्रमुख दिपक पौडेलको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक बिनोदकुमार दाससहितले गरिएको निरीक्षण टोली रेष्टुरेन्ट पुगी अनुगमन गरेको थियो।
अनुगमनका क्रममा रेष्टुरेन्टमा रहेको फ्रिजमा राखिएका खानेकुराहरुमा ढुसी परेको, प्लाष्टिकमा प्याक गरी खाना राखिएको, म्याद गुज्रिएका पिज्जा लगायतका खाद्य सामग्रीहरु फेला पारेको थियो। त्यसले पनि रेष्टुरेन्टको किचनमा गम्भीर त्रुटी रहेको पुष्टि भएको छ ।
म्याद गुज्रिएका सबै खाद्य वस्तुहरु नष्ट गरिएको छ। निरीक्षण टोलीले म्याद गुज्रिएका खाद्य सामग्रीहरु आगामी दिनमा नराख्न र फ्रिजको सरसफाई गर्न निर्देशन दिएको छ। सरसफाईमा ध्यान दिने र सुधार गर्ने शर्तमा पहिलो पटकका लागि नसियत दिइएको बताइएको छ । निरीक्षण अगाडी नै रेष्टुरेन्टको खाद्यवस्तुमा साङला होम डेलिभरी भएपछि त्यसको अवसर व्यवसायीक रुपमा पर्ने देखिएको छ । तर, यति गम्भीर त्रुटीलाई सामान्य रुपमा अुनगमन टोलिले हेरेको छ ।