विराटनगर । विराटनगर महानगरपालिका–५ जामुनगाछीमा निर्वाचनकै बेला एउटा ब्यानर लाग्यो । जसमा उल्लेख छ, ‘विराटनगरको विकासका बाधा तथा जनघाती नेता बहिष्कार ।’ विगत ३० वर्षदेखि सत्तामा बसेर पनि विराटनगरको हाईवे पश्चिम विकास गर्न नसकेको गुनासोसहित नेता र ठेकेदार समेतको फोटो अंकित व्यानर राखिएको हो ।
‘सधैं नेताको गुलामी र झोले भएर कहिलसम्म बस्छौ ?’ विराटनगरका लागि यी नेता बाधक छन् । व्यानगरमा डा.शेखर कोइराला, पूर्व मेयर भीम पराजुली, प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, काँग्रेस नेता मिनेन्द्र रिजाल, महेश आचार्य, एमाले नेता गुरु बराल, लालबाबु पण्डित र जीवन घिमिरेको नाम व्यानरमा राखिएको छ ।
विराटनगर महानगरपालिका अन्तर्गत कोशी राजमार्ग पश्चिमलाई ‘कर्णाली क्षेत्र’ यहाँको स्थानीयले घोषणा गरेका छन् । जसको अर्थ समानुपातिक विकासको माग हुन्छ । यस अगाडी पनि विराटनगर–४ र ५ वडाका स्थानीयले आफ्नो क्षेत्रलाई विकासमा पछि पारिएको भन्दै नेता निषेध अभियान घोषणा गरेका थिए ।
विराटनगरको बरगाछी, चाँदनीचौक, गणेशचौक, पुलचौक, कोचाखाल, पिपलचौक लगायत समग्र राजमार्ग पश्चिम क्षेत्रमा जनप्रतिनिधि र दलका नेतालाई प्रवेश गर्न निषेधको घोषणा गरिएको थियो । निर्वाचनको समयमा सडक ठेक्का लिएर काम नगर्ने ठेकेदारहरु खुस्बु कन्ट्रक्सनका दिपक पौडेल र दुश्यन्त पौडेल तथ भूमि कन्ट्रक्सनका शुभम् बोहराको समेत नाम व्यानरमा उल्लेख गरिएको छ । ठेकेदारहरुले दलका नेतालाई रुझाएर ठेक्का लिने र काम नगर्ने गरेको आरोप छ । नेताहरुलाई बहिष्कार अभियानमा संलग्न उत्तम दाहालले गणेशचौकदेखि केसलिया खोलासम्म पर्ने हुलाकी राजमार्गको चार किलोटिमर सडक निर्माणमा ध्यान नदिएको आरोप लगाएका छन् । नेताहरुले ठेकेदारको संरक्षण गर्दा स्थानीय नागरिकले दुःख पाएको बताउँदै दाहालले धेरै मागहरु सम्बोधन गर्नुपर्ने रहेको बताए ।
केन्द्रमा पहुँच भएपनि लालबाबु पण्डित र डा.शेखर कोइरालाले वास्ता नगर्नु दुःखद् भएको भनाई उनीहरुको छ । प्रदेश सरकारको मन्त्री भएर पनि केदार कार्कीले पनि कुनै चासो नदेखाएकोले उनीहरुलाई भोट नदिने भएका हुन् । विराटनगरका हाईवे पश्चिम हाईवे पूर्व जस्तो विकास नहुँदा सरकारी कार्यालयहरु समेत निर्माण नहुने गरेको स्थानीयको गुनासो छ ।
हाईवे पश्चिममा विराटनगर महानगरपालिका ५, ६, ११ र १२ नम्बर वडालाई समेट्दै सीमा क्षेत्रको रानीसम्मको ९.३८ किलोमिटर सडकको निर्माणको काम पनि अहिले भईरहेको छ । यसलाई विराटनगरको मुख्य राजमार्गको वैकल्पिक सडकको रुपमा परिभाषित गरिएको छ । विराटनगरको पश्चिम क्षेत्रका वडाहरुलाई सीमासम्म सहज पहुँच पु¥याउने लक्ष्यका साथ सडक निर्माणको योजनाको काम अगाडी बडाइएको थियो ।
प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय मोरङको २९ करोड ६३ लाख ९ हजार ५६६ रुपिँया कुल लागतमा सडक बन्ने काम भईरहेको कार्यालयका प्रमुख सुशिल श्रेष्ठले जानकारी दिए । पूर्वाधार विकास कार्यालयका प्रमुख श्रेष्ठका अनुसार २०७७ असार ४ गते नै ठेक्का सम्झौता गरिएको सडक २०७९ साल असार ३ गतेसम्ममा सम्पन्न गर्नुपर्नेछ । जसमध्ये अहिले ८० प्रतिशत भू–भागमा नालाको काम भईरहेको छ ।
विराटनगर भित्र पर्ने मुख्यराजमार्ग पश्चिम सुनसरी–मोरङ सिंचाई आयोजनाको नहरलाई समेत सडकमा स्तरोन्नती गर्ने काम भईरहेको छ । नहरदेखि अझै पश्चिमतर्फ नयाँ सडकको अवधारणा ल्याएर काम भईरहेको भएपनि जामुनगाछीमा हुलाकी सडकको काम रोकिँदा स्थानीय आक्रोशित देखिएका छन् ।