विराटनगर । प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट तत्काल नबाहिरिने भएको छ ।
संघीय सरकार र प्रदेश सरकारबाट अलग भएर समर्थन फिर्ता लिने निणर्य पार्टीले गरेको थियो । तर प्रदेश १ सरकारबाट तत्काल अलग नहुने राप्रपाका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकपछि राप्रपाबाट संघीय सरकारमा उपप्रधान तथा उर्जामन्त्री रहेका राजेन्द्र लिङ्देनसहित मन्त्रीहरुले राजिनामा दिइसकेका छन् । प्रदेश १ सरकारबाट भने अहिले अलग हुने निणर्य नभएको र त्यसबारे केन्द्रले पनि निर्देशन नदिएको मन्त्री सिटौलाले जानकारी दिए । पार्टीको प्रदेश कमिटिको बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निणर्य हुने उनले बताए ।
झापा क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित सिटौला प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा राप्रपाबाट मन्त्री छन् । प्रदेश १ प्रदेशसभामा एमालेका ३९ र राप्रपाका ६ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेशसभामा काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।