विराटनगर । विराटनगरको बसपार्कस्थित अन्नपूर्ण सप्लायर्सले डिजेल र पेट्रोल बिक्री गर्छ । नेपाल आयल निगमको आधिकारिक बिक्रेता रहेको पम्पको संरचना भने पुरानो र असुरक्षित छ । पहुँचको बोलवालाका कारण आयल निगमबाट आउने अनुगमन र नियमन पनि खासै भरपर्दो नहुँदा मापदण्ड देखाउनकै लागि मात्रै पूरा गरेको छ । अन्नपूर्णदेखि एकसय मिटर उत्तर–पश्चिमतर्फ एस.लाल.पेट्रोलपम्प छ । मुख्य राजमार्गसँगै जोडिएको पम्प पनि मापदण्ड अनुसार छैन ।
एस.लाल.देखि ५० मिटर दुरीमा यदुनाथ, दुईसय मिटरको दुरीमा पूर्वाञ्चल आयल सप्लायर्स छ । त्यसपछि बिराटनगर–२ स्थित विराट नर्सिङ होम नजिक पारस पारख सञ्चालक रहेको अर्को पम्प संरचना छ । यी पम्पहरुको दुरी नेपाल आयल निगम लिमिटेडको पेट्रोलिम पदार्थ बिक्रेता विनियमावली २०७५ अनुसारको मापदण्डमा छैनन् ।
विराटनगरका अधिकांश पम्प संरचना घर र राजमार्गसँगै जोडिएका छन् । साँघुरो क्षेत्रमा सञ्चालित पम्पहरुको वितरण प्रणाली उतिकै असुरक्षित छन् । त्यस बाहेक सेवाग्राही केन्द्रीत संरचना छैनन् । शौचालय र पीउने पानी समेत छैन । भएपनि मापदण्डमा तोकिएअनुसार र प्रयोगका लागि नभई नियमनका लागि देखाउनकै लागि मात्रै छन् ।
नेपाल आयल निगम लिमिटेडको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ अनुसार प्रत्येक पेट्रोलपम्पका न्यूनतम सुरक्षा मापदण्ड तोकिएको छ । अति प्रज्वलनशील पदार्थ वितरण गर्ने पम्पका संरचना र वितरण प्रणाली सुरक्षित बनाउन निगमले मापदण्ड बनाएपनि पूरा भएको छैन ।
विराटनगरमा पम्पको भण्डारण र वितरण घरसँगै जोडिएका संरचनाबाट हुने गरेको छ । यदि कुनै कारणवश आगलागी भए त्यसले घनावस्तीमा पार्ने क्षति यकिन गर्न नसकिने अवस्थाको छ । जसले ‘खतराको घण्टी’ बजाईरहेपनि त्यसको निगमन र व्यवस्थापनमा खासै चासो छैन ।
नेपाल आयल निगम प्रादेशिक विराटनगरका प्रमुख अशोक साहले चालु आर्थिक वर्षको अन्त्यसम्ममा नमूना पम्पबाहेक बाँकी पुराना पम्पको पुनसंरचना गर्ने अवधी दिइएको छ । यो अवधीमा काम नभए त्यस्ता पम्पहरु विरुद्ध कारवाही सुरु गर्ने दावी छ । मोरङमा ५२ वटा पम्पमध्ये एउटा मात्रै नमूना संरचना भएको छ । बँकी पम्प साधारण संरचनामा रहेका छन् । ‘मापदण्ड भित्र ल्याउनका लागि हामीले दिएको म्यादसम्म पर्खिरहेका छौं’ साहले भन्नुभयो–यसको विषयमा निगमले चासो राखेको छ ।
छैन पीउने पानी र शौचालय
विराटनगरका पम्प संरचना क्षेत्रमा शौचालय र पीउने पानीको सुविधा छैन । देखाउनका लागि रहेका शौचालय प्रयोग गर्नसक्ने अवस्थाका छैनन् । सेवाग्राहीका लागि सफा र खुल्ला हुनुपर्ने शौचालयमा ताला कसिएको हुन्छ । पीउने पानी सर्वसाधारणका लागि छैन । सेवाग्राहीले पानी पीउने ईच्छा राखे सहज पाउँदैनन् । सञ्चालकले अफिस भित्र राखेको पानी पम्पका कामदारले देखाउनै सक्दैनन् । घरसँगै रहेका पम्प संरचनामा शौचालय पनि भित्रको एउटा छुट्याइएको छ । सेवाग्राहीले शौचालय सोधे त्यो पनि कामदारले देखाउन सक्दैनन् । घर भित्रैका कुनै शौचालयलाई देखाएर निगमन र अनुगमन टार्ने सञ्चालकहरु सेवाग्राहीमुखी नहुँदा समस्या थपिदो छ ।
नेपाल आयल निगम लिमिटेडको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ अनुसार बिक्रीस्थलमा पुरुषको हकमा न्यूनतम २ वटा शौचालयसहित ४ वटा युरिनल र महिलाको हकमा ४ शौचालय, अपाङ्गमैत्री एउटा शौचालय बत्तिसहितको व्यवस्था हुनुपर्ने उल्लेख छ । यसैगरी स्वस्थ्यकर पीउने पानी राखिनुपर्ने व्यवस्था छ । पानीको डिस्पेन्सरसहित बिक्री कक्षबाट निःशुल्क शुद्ध पीउन पाउनुपर्ने सेवाग्राहीको अधिकार हुन्छ । तर, अफिस प्रयोजनका लागि राखिएको पानी देखाएर झारो टार्ने गरेपनि सर्वसाधारणका लागि पानी काउन्टर छैन । पार्किङस्थल, एटीएम वा डिजिटल कार्डबाट भुक्तानीको सुविधा, गाडीको टायरमा हावा भर्ने सुविधा, मर्मत संभार तथा सरसफाईको लागि सेड, प्राथमिक स्वास्थ्य उपचार गर्न मिल्ने फस्ट एडका सामाग्री अनिवार्य राखिनुपर्ने मापदण्डमा उल्लेख छ ।
विराटनगरको एस.लाल. पेट्रोलपम्पका सुनिल बिडलाले सबैका लागि पानी र शौचालयको सुविधा रहेको दावी गर्नुभयो । बाहिर फोहोर हुने भएका कारण अफिस भित्र पानी राखिएको जानकारी दिनुभयो । यस्तै पूर्वाञ्चल सप्लायर्सका महेश कुमार अग्रवालले पुरानो पम्प संरचना भएका कारण कतिपय कुरा नमिलेपनि सेवाग्राहीले चाहेको खण्डमा सुविधा दिन सकिने दावी गरेका छन् ।