धनकुटा । धनकुटा नगरपालिकाले आफ्नो बजार क्षेत्रमा पर्यटक भित्र्याउन पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको छ ।
स्थानिय आठपहरिया जातीको ऐतिहासिक महत्वसमेत बेकेको अक्कर भिर क्षेत्रमा रहेको यो क्षेत्रमा सडक निर्माण गर्न नसकिने भएकाले ती जातीले वार्षिकरुपमा तीर्थ जानका लागि बाहेक यो बाटो प्रयोगमा छैन । कोशी राजमार्गको साँगुरीगढी गाउँपालिका र उक्त नगरपालिकाको सिमानामा रहेको मूलघाट सडक खण्डबाट करिब नौ किलोमिटरको दूरीमा धनकुटा बजार रहे पनि भौगोलिक कठिनाइले हाल १७ किलोमिटर पार गरेर बजार पुग्नुपर्ने हुन्छ ।
यही भौगोलक कठिनाइका कारण पूर्वकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको साँगुरीगढी गाउँपालिकाको भेडेटार, नमस्ते झरना हुँदै मूलघाटसम्म दैनिक आउने सयौँ पर्यटक धनकुटासम्म पुग्न सकेका छैनन् । यही भौगोलिक कठिनाइलाई पदमार्गका माध्यमबाट पर्यटक भित्र्याउन नगरले मूलघाटको तमोर नदी किनारबाट अक्करको भिर वडा नं ८ को टेकुनाला गाउँ हुँदै बजारसम्म जाने पदमार्ग निर्माण सुरु गरिएको हो ।
यो पदमार्ग नगरमा मात्र प्रमुख थातथलो भएका अल्पसङ्ख्यक सिमान्तकृत आठपहरिया जातिको आदिमकालदेखि हिँडेर सुनसरीको कोका खोला र बराहक्षेत्र तीर्थ जाने बाटो हो । यी जातिको समुदायमा वर्षभरि मृत्यु भएकाहरुका आफन्त यसै स्थानको चिरबिरे चौतारामा भेला भएर कार्तिके पूर्णिमाको तिथिमा चार दिनका लागि बराह क्षेत्रमा दुःख प्रकट गर्न जाने गर्दछन् । नगरपालिकाको रु २० लाख, पर्यटन परियोजनाको रु १० लाख र उपभोक्ता समितिको रु चार लाख ५५ हजार गरी कूल रु ३८ लाख ५५ हजारको लागतमा पदमार्गको काम सम्पन्न भएको नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख विकास अधिकारीले जानकारी दिनुभयो ।
वडा नं ९ स्थित मूलघाट र धनकुटे खोला दोभानबाट दक्षिण र उत्तरतर्फ निर्माणाधीन उक्त पदमार्ग पूरा गर्न करिब रु दुई करोडको बजेट आवश्यक रहेको अधिकारीले जानकारी दिनुभयो । पाँच वर्षमा पूरा गर्ने लक्ष्य राखिएको उक्त पदमार्गसँगै आठपहरिया जातिको घरबास(होमस्टे) सञ्चालन गरिने नगर प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो ।
“तमोर नदी र मूलघाटसम्म आउने पर्यटकलाई आठपहरियाहरुको संस्कृति देखाउँदै नगरमा पर्यटक भित्र्याउने पदमार्गको लक्ष्य हो”, तामाङले भन्नुभयो, “यो चार किलोमिटरको पदमार्ग पुरा भएपछि टेकुनाला गाउँबाट कच्ची सडक हुँदै सबै खालका साना सवारी साधनबाट करिब तीन किमिको दूरीमा रहेको धनकुटा बजार जान सक्नेछन् ।” पदमार्ग भएर आउने पर्यटकले तमोर नदी क्षेत्रको मनोरम दृष्य, भौगोलिक विकटताको दृष्यावलोकन र सघन बसोबास क्षेत्र रहेको आठपहरिया जातीको रहनसहन तथा संस्कृतिको अध्ययन गर्न पाउनेछन् ।