-मीनकुमार नवोदित
हिंड्न त हामी सँगै हिंडेका थियौं
एउटै बाटो भएर
तर, गन्तव्यमा नपुग्दै छुटिगए सबै-सबै ।
वर्तमानको आँगनमा उभिएर
आफैंलाई बिर्सिएर खूब सम्झन्छु
छुटी गएकाहरूलाई
जसरी सम्झिन्छ-
गुँड छाडेर गएका बचेरालाई माउले ।
सँगैको यात्रा पनि दोबाटोमा पुगेपछि छुटिँदो रहेछ
जसरी छुटिजान्छ चराको जिउबाट
थाहै नपाई प्वाँख
जसरी झरी जान्छ रुखबाट पात
बादलको आँखाबाट पानी
त्यसरी नै छुटिगए एकएक
जिन्दगीका रहरहरू ।
अँगेनाबाट छुटेर गएको आगोको झिल्कोझैं
आफैंबाट छुट्दै गए क्रमशः
जीवनका रङहरू ।
युवा नहुँदै छुटिगए
बाल्यकालका दौंतरी
वयस्क नहुँदै छुटिगए
भविष्यका सपना
वृद्ध नहुँदै छुटिगए
आफन्त र सन्तान ।
सँगसँगैको यात्रा
दोबाटो र चौबाटो नभेटुञ्जेलसम्म न रहेछ
जसरी छुटिरहेछ-
बन्दुकबाट गोली छुटेझैं आफ्नै उमेर
फूलको शिरबाट वास्ना
हिमालको निधारबाट हिउँ ।
हिंड्दाहिंड्दै छुटिजान्छ
पाइतालाको डोब
अस्ताउँदा-अस्ताउँदै छुटिजान्छ घामबाट प्रकाश
बग्दाबग्दै छुटिजान्छ नदीबाट मुहान ।
आखिर कहिल्यै नछुट्ने भनेको
आफ्नै छाँया त रहेछ
जो लाससँगै जान्छ चितामा
र, खरानीसँगै धुँवा बनेर उडिजान्छ हावामा ।