सुनसरी, भाद्र ८
सुनसरीको अमडुवा गाविस-९ स्थित रहेको पोखरीको पानीमा डुबेर मंगलबार दिउँसो तीन बालिकाको मृत्यु भएको छ।
स्थानीय जनता प्राथमिक विद्यालयको नजिक रहेको पोखरीमा नुहाउन गएका बेला तीन बालिकाको डुबेर एकसाथ मृत्यु भएको हो।
मृत्यु हुनेमा स्थानीय सुन्दर ऋषिदेवको छोरी ९ वर्षीया करुणा ऋषिदेव, राजु ऋषिदेबको छोरी १० वर्षीया दिपीका ऋषिदेव र सोही ठाउँका रामु ऋषिदेवको छोरी ९ बर्षिय नन्दनी ऋषिदेव रहेका छन्।
स्कुल बिदा भएको बेला नुहाउन गएको र निकै बेरसम्म फर्केर नआएपछि खाज्दै जाँदा उनीहरु मृत फेला पारे पछी स्थानीयले प्रहरीमा खबर गरेका हुन्।
घटना स्थलमा इलाका प्रहरी कार्यालय दुहवीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ। त्यसैगरी सुनसरीकै अमाहिबेला-५ स्थीत घमना खोलामा डुबेर मंगलबार बृधाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँकी ९० बर्षिया हिरा देवी घिमिरे रहेकी छिन्। घर भन्दा अन्दाजी ८०० मिटर पूर्वमा रहेको उक्त खोलामा उनलाई स्थानीयले मृत अवस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका हुन्।
घटना स्थलमा इलाका प्रहरी कार्यालय सितागंजबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ।