विराटनगर । जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाको आयोजनामा पूर्वी पृतना हेड्क्वाटर इटहरीमा सञ्चालित चार दिवसीय रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
मंसिर १७ गतेदेखि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको हो ।
नेपाली सेनाको काम कर्तव्यबारे जानकारी गराउनुका साथै नेपाली सेनाको समाचार सम्प्रेषणमा सञ्चारकर्मीहरूलाई सहजता पुरर्याउने उद्देश्यका साथ उक्ता अभिमुखीकरण कार्यक्रमको आयाजना गरिएको हो । आइतबारबाट सुरू गरिएको तालिममा सेनानी रामबहादुर बोहोराले नेपाली सेनाको संक्षिप्त परिचय, पूर्वी पृतना हे.क्वा.का पृतनापति उपरथी आशबहादुर तामाङले पूर्वी पृतनाको जिम्मेवारी क्षेत्र, जिम्मेवारी चुनौती तथा तनाव व्यवस्थापन, जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख सेनानी सागर कार्कीले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (डीकोप) को महत्व, जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिकालगायतका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रमको अन्त्यमा पूर्वी पृतना हे.क्वा. का पृतनापति उपरथी आशबहादुर तामाङ (पिएच.डि.) बाट तालिममा सहभागीहरूलाई क्याप तथा प्रमाणपत्र वितरण समेत गरिएको थियो ।