विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधि र कर्मचारीहरुले लाभ र प्रभावमा नपरी कार्य गर्नु पर्ने बताउनु भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीद्वारा शनिबार विराटनगरमा आयोजित भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस सम्वन्धी कार्यक्रमको उद्घाटन गर्दै उहाँले ऐन , नियमावली, कार्यविधि अनुसार कार्य गरेमा अख्तियारले दण्डिन होइन पुरस्कृत गर्ने विचार व्यक्त्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय तह वीच सुशासन कायम गर्ने तर्फ प्रतिस्पर्धामा लाग्न आग्रह गर्नु भयो । राज्यका सबै अङ्ग एक अर्काका पुरक हुन, यी दुःख दिने होइन सहजता प्रदान गर्ने हो भन्दै आयोग अपराधीका लागि कठोर हो भने असल नियतले कार्य गर्नेका लागि पवित्र नदी गंगा हो भन्ने विचार राख्नुभयो । उहाँले तोकिएको भन्दा कम रकममा टेण्डर सम्झौता गरि काम नगर्ने कार्य भ्रष्टाचार भएकोले प्रदेश सरकारले यस कार्यलाई कुनै किसिमको छुट नदिने प्रष्ट पार्नु भयो । प्रदेशका प्रमुख सचिव डा दिपक काफेलेले सरकारका सबै अङ्गहरुले भ्रष्टाचार विरुद्धमा लाग्नु पर्ने बताउनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अख्तियारबाट ज्यादा पीडित स्थानीय तह भएकोले उजुरी उपर अनुसन्धान छिटो दुङ्गाउन सुझाव दिनु भयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले भ्रष्टाचार नियन्त्रण लागि आआफ्नो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिनु भयो । आयोगका इटहरी प्रमुख सुरेश न्यौपानेले मुलुकमा भ्रष्टाचारको अवस्था र नियन्त्रण विषयक कार्यपत्र प्रस्तुत गर्दै सबैभन्दा वढी स्थानीय तहमा ३५ दशमलव १० प्रतिशत उजुरी आएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेशका सरकार सबै मन्त्रालयका सचिव, सङ्घीय सरकार कार्यालयका कर्मचारी, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।