विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आक्रमण गर्ने महेश राईलाई प्रहरीले रोक्न खोज्दाखोल्दै भीडमा पसेका थिए ।
कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बाँस्तोलाका अनुसार उनलाई शंका लागेर सुरक्षामा खटिएका प्रहरीले फूलमाला लगाउने लाइनमा जानबाट रोक्न खोजेका थिए । तर, एमाले कार्यकर्ताकै सहयोग लिएर स्वागत गर्ने लाइनमा पुगेका उनले अध्यक्ष ओलीको टाउकोमा मुड्की हानेका हुन् । प्रहरीले रोक्न खोजेको तर, एमालेकै कार्यकर्ताहरुको सहयोग लिएर लाइनमा छिरेको थाहा भएको डिआइजी बाँस्तोलाले जानकारी दिए ।
आक्रमणकारी महेश राईले मादक पदार्थ सेवन गरेको पनि खुलेको डिआइजी बास्तोलाले बताए ।
संकल्प यात्राका क्रममा धनकुटाको लेगुवा पुगेका ओलीलाई आज आक्रमण भएको हो । मध्यपहाडी संकल्प यात्राको क्रममा भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका महेशले ओलीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
महालक्ष्मी ५ धनकुटाका महेश राई पहिचानवादी संघ संगठनको कुनै जिम्मेवारीमा भने नरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।