विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पहिचानको नाममा एमाले केन्द्रीत विरोधलाई जनताको तहमा अस्वीकार गरिएको दावी गरेका छन् ।
विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । पोखरेलले धनकुटामा अध्यक्ष ओलीमाथि भएको गलत प्रयास भएपनि मिडियाले सही सूचना सम्प्रेसण नगरेको गुनासो गरे । एमालेले साझा पहिचानको कुरा गरेको बताउँदै उनले एकल पहिचानको मुद्दा लिएर चुनाबमा जानेहरू नै कोशीको पक्षमा आएको बताए ।
त्यसकारण पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक नभएको उनको भनाइ छ । ‘नामको विषयमा असहमति राख्नेहरूले भोट नहालेको भए भईजान्थ्यो नि, अहिले यो वितण्डा मच्चाउन आवश्यक नै थिएन नि’ उनले भने, ‘एमालेले जनतामा भनेको एजेन्डा नै लागू गरेको हो । जे भएको छ, कोशीमा जायज छ ।’
पहिचानको कुरा गर्नेहरूले वैधानिक हिसावले शान्तिपुर्ण आन्दोलन गर्नुपर्ने पोखरेलले सुझाब दिए । मध्य पहाडी पुष्पलाल लोकमार्गको लम्बाई घटाउनुपर्ने समेत उनले बताए । एमालेको संकल्प अभियानमा लोकमार्गको प्राविधिक अडिट गर्न प्राविधिकहरूलाई जिम्मा दिएको उनले बताए । प्रारम्भिक रिपोर्टमा प्राविधिकहरूले मध्यपहाडि राजमार्गलाई समृद्धिसँग जोड्नका लागि ४ सय किलोमिटर लम्बाई घटाउनुपर्ने पोखरेलले बताए ।यात्राको क्रममा कतिपय जिल्लामा सर्वदलीय जस्तो बनेको, साझा समस्याहरू धेरै प्रस्तुत भएको बताउँदै सडक र मुआब्जाका विषयहरू धेरै उठेको पोखरेलले बताए ।
यात्रामा आफूहरुलाई जनताले लगाएको माला जम्मा गर्ने हो भने फूलको पहाड हुनसक्ने अवस्था देखिएको भन्दै पोखरेलले यात्राले पहाडि क्षेत्रको सांस्कृतिक, सामाजिक र अर्थराजनीतिमा नयाँ नयाँ योगदान दिएको दावी गरे । एमाले अध्यक्ष केपी ओलीप्रति वृद्ध, वृद्दा र बालबालिकामा अत्यन्तै आकर्षित रहेको पाईएको भन्दै उनले यात्राको क्रममा जनताले स्वतः स्फूर्त धेरै कार्यक्रम आयोजना गरेको पनि दावी गरे ।
पुष्पलाल राजमार्गमा एमाले सरकार हुँदा स्मार्ट सिटी बनाउने योजनाहरू अलपत्र रहेको बताउँदै पोखरेलले मध्यपहाडलाई गुल्जार बनाउन स्मार्ट सिटीहरू बनाउनु आवश्यक भएकोमा जोड दिए । यात्राको क्रममा सुन्तला र स्याउको पकेट क्षेत्र बनाउन सकिने देखिएको, दैलेखको पेट्रोल खानी, नदी डाईभर्सनको काम भईरहेको उनले बताए ।
कतिपय आयोजनाको काम छिटो हुँदा पनि भुक्तानी रोकिएको उनले बताए ।