सुजता लिम्बू
विराटनगर । माटोको मायाले देश छोड्न नसक्ने नेपाली मनको हबिगत खासै टिठ लाग्दो देखेनन् । प्रहरीको बर्दीभित्र देश र आमाको माया महसुस गर्ने जगत राई (नाम परिवर्तन) ले विस्तारै मायाको भोक मेट्न अभावको राप सेक्न बाहेक विकल्पमा केही भेटेनन् ।
त्यसो त नेपाल सरकारको जागिर त्यसमा पनि नेपाल प्रहरी परिवारको लागि सधैँ गर्वको विषय थियो ।
तर, समयसँगै परिवारको जिम्मेवारीको भारीले गहकिलो बनेको उनको काँध बिसाउने नेपालको जागिरमा नभेटेपछि विदेशिने सपना देख्न सुरु गरे । बढ्दो महँगीसँगै आर्थिक जिम्मेवारीको पाटोले पनि उनी जागिर छोडेर राम्रै देश जाने योजनामा थिए । तर, अवसरको खोजी गर्दै जाँदा रसियाको माटोमा उनको सुखद भविष्यको सपना पुरा गर्ने गन्तव्य बन्यो ।
उनी रसियन सेनामा भर्ती हुन ५ महिना अगाडी पुगेका रहेछन् । केही दिन अगाडी सामाजिक सञ्जाल मार्फत संवाद गर्दा उनले रहरले भन्दा पनि बाध्यताले विदेशिनु परेको सुनाएका थिए । नेपालमा कामको मुल्यांकन भन्दा पनि परिवारको समस्याले जस्तोसुकै जोखिम पनि मोल्नु बाध्य हुनुपर्ने उनको भनाई थियो । ‘नेपालको जागिरमा चुनौती धेरै छ, अवसर कम छ,’ उनले भने,‘मुल्यांकन कामको भन्दा पनि परिवारको भरथेगको हुने रहेछ अवसरको खोजीमा थिए रसिया नै गन्तव्य बन्यो ।’ रुस- युक्रेन युद्धको भुमरीमा रुमलिन पुगेका उनी मात्रै छैनन् ।
उनी जस्तै नेपालबाट अवसरको खोजी गर्दै रसियाको माटोमा ज्यान दाउमा राखेर पसिना बगाउन पुग्नेको संख्या थुप्रै रहेको उनले सुनाए । सामान्य परिवारका हरेक नेपालीको सपना विदेश गएपछि लाखभन्दा माथि कमाउने हुन्छ । महिनामा लाखभन्दा बढी कमाउने सपना लिएर रसियन सेनामा भर्ना भएका राईलाई आफ्नो जीवन भयावह हुन्छ भन्ने खासै कल्पना नगरेको सुनाए ।
तर, सोँचेको भन्दा धेरै अप्ठयारो रहेको उनको भनाई थियो । युवाहरुलाई नेपालकै माटोमा बस्ने र काम गर्ने वातावरण बनाउन राज्यले चासो दिनुपर्नेमा उनले जोड दिए ।