विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले अवैज्ञानिक तरिकाले बढाएको करको दर समायोजन नगरे आन्दोलमा उत्रिने स्थानीय राजनैतिक दलहरुले चेतावनी दिएका छन् ।
सुन्दरहरैँचाका राजनैतिक दलहरुले आज पत्रकार सम्मेलन गर्दे बढाएको करको दर पुस १५ गतेभित्रमा समायोजन नगरे आन्दोलनमा उत्रिने भन्दै चेतावनी दिएका हुन् ।
आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाले जग्गा बर्गीकरणको नाममा एक सय प्रतिशत बढी कर बढाएको सुन्दर हरैचना नगरपालिकाका पुर्व नगर प्रमुख शिव प्रसाद ढकालले बताए । खेती किसानी गरेर आफ्नो दैनिकी चलाउनेलाई करको दर उच्च भएको कारणले उनीहरुलाई समस्या परेको उनको भनाई थियो । ‘आर्थिक अवस्था टाट पल्टिएको अवस्थामा नगरपालिकाले नगरबासीको ढाड सेक्नेगरी कर बोकाएको छ,’ उनले भने, ‘त्यो पनि अवैज्ञानिक तरिकाले कर बढाएको छ । तत्काल बढाएको कर समायोजन गरिनुपर्दछ ।’
स्थानीय उद्योगी व्यवसायीदेखि सर्वसाधारणसम्मले कर वृद्धिको विरोध गर्दै तत्काल समायोजन गर्न माग गरेका छन् । करको दर बढेपछि सबै क्षेत्रलाई समस्यामा परेको नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र,नेकपा एकिकृत समाजवादी राष्ट्रिय स्वतन्त्र पार्टी, जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी सुन्दरहरैँचा, सुन्दरहरैँचा उद्योग वाणिज्य संघ, सुन्दरदुलारी उद्योग वाणिज्य संघले विरोध जनाएका छन् ।
हरेक क्षेत्रमा करवृद्धि गरिएको माओवादी केन्द्र सुन्दरहरैँचा नगरपालिका अध्यक्ष दुष्यान्त भट्टराईले बताए । राजस्व परामर्श समितिको बैठकमा आफूहरूले करवृद्धि नगर्न सुझाव दिए पनि बेवास्ता गर्दै नगरपालिकाले एकलौटी ढंगले करवृद्धि गरेको उनीहरुको आरोप थियो । तत्काल नसध्याए आन्दोलनमा उत्रने बाध्य हुने उनीहरुले बताए ।
कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०८०/०८१ बाट लागूहुने गरि जग्गा बर्गीकरण लगायतका विभिन्न शिर्षकहरुमा नगरपालिकाले कर वृद्धी गरेको थियो । स्थानीय र राजनैतिक दलको चौतर्फी विरोध भएपछि नगरपालिकाले कार्यदल गठन गरेको छ । सुन्दरहरैँचा नगरपालिका १२ का वडाअध्यक्ष रोशन प्रसाद ढकालको नेतृत्वमा सात सदस्यीय रहेको कार्यदल गठन भएको नगर प्रमुख केदार प्रसाद गुरागाईले बताए । ‘सामान्यता दश प्रतिसतसम्म कर दर बढाउन पाइन्छ । तेही अनुसार हामीले बढाएको हो । अहिले कार्यदल पनि गठन भएको छ । कार्यदलले दिएको प्रतिवेदनको आधारमा समायोजन गरिनुपर्ने देखियो भने कार्यपालिकामा लगिन्छ । तेही बैठकबाट आवश्यक निर्णाय गरिनेछ,’ उनले भने, ‘अहिले समय सापेक्ष रुपमा कर बढाइएको छ ।’
नगर प्रमुख गुरागाई लागेको १५ आरोप
यहाँका प्रमुख ६ वटा राजनैतिक दल र उद्योग वाणिज्य संघहरुले सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाइमाथि १५ आरोप लगाएका छन् । उनीहरुले पत्रकार सम्मेलन गरी विभिन्न १५ आरोप लगाएका हुन् । उनीहरुले सुन्दरहरैँचा ५ मा रहेको फुटबल ग्राउण्डलाई नगरस्तरिय खेल मैदानको रुपमा विकास गर्न तथा संरक्षण गर्न कुनै पहल नगरिएको बताएका छन् । उक्त खेलमैदान अतिक्रमण हुँदा समेत नगरपालिका बेखबर रहेको बताएका छन् ।
यसैगरी साविक सर्वदलिय संयन्त्र हुँदै नगरपालिकाले सुरक्षा गरिराखेको वडा सुन्दरहरैँचा १० मा रहेको चार बिघा १६ कठ्ठा जग्गाको व्यवस्थापन र सदुपयोग गर्नुपर्नेमा नगरप्रमुखले एकलौटी निर्णय गरी सशस्त्र प्रहरी विद्यालय खोल्न दिने प्रयास भएको छ । जुन सरासर गलत रहेको उनीहरुले बताए । सामुदायिक विद्यालयको विकासमा ठोस कदम र नीति नगरपालिकाबाट नबनाई शिक्षालाई पार्टीकरण गर्ने प्रयास भएको उनीहरुको आरोप छ ।
यस्तै ईन्द्रपुर रंगेशाला तथा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि घेराबारा शुरु गरिएको १९ बिघा ७ कठ्ठा जग्गा विभिन्न नाममा मिचिएकोमा नगरपालिकाले संरक्षणका लागि कुनै चासो नदिएको तथा रङ्गशाला निर्माण गर्न पहल नगरेकोले नगरपालिकाको नेतृत्व असक्षम सावित भएको बताइएको छ । नगरपालिका भित्रको खोला नालाको नियोजित रुपमा ठेक्का नलगाइ अमानतमा कर उठाउने बहानामा करोडौ भ्रष्टाचार गरिएको उनीहरुको आरोप छ ।
नगर प्रमुखले भूमिहिन तथा सुकुम्बासी समस्या समाधानका लागि कुनै पहल नगरेको साथै शुरु भएको नापजाँच, निश्सा वितरण कार्य समेत रोकि मुकदर्शक बनेको, पूर्वाञ्चल विश्वविद्यालयमा अस्पताल सञ्चालन तथा मेडिकल कलेज स्थापनाका लागि स्थानीय तहको तर्फबाट गर्नुपर्ने न्युनतम कार्य समेत नगरेको उनीहरुको भनाई छ । निर्माणाधिन हसिना सिमसारको कार्य अलपत्र पारेको साथै बाधझोडा सिमसार क्षेत्र, किच्चकेगडी, नयाँ वृन्दावन गौशाला जस्ता पर्यटकिय क्षेत्रमा आवश्यक बजेट व्यवस्थापन गर्नुको साटो अपारदशी ढङ्गले वडाअध्यक्षहरु समेतलाई कुनै जानकारी नदिई काम गर्ने गरेको साथै वडाहरुमा बजेट विनियोजन गर्दा असमान ढङ्गले वितरण गर्ने गरेको उनीहरुको भनाई छ ।
नगर प्रमुख गुरागाईलाई लगाएको आरोप पत्रमा नेपाली काँग्रेसका नगर सभापति भक्तिप्रसाद सिटौला, माओवादी केन्द्र नगर अध्यक्ष दुष्यान्त भट्टराई, नेकपा एकिकृत समाजवादीका अध्यक्ष तीलकप्रसाद ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी सुन्दरहरैँचाका सभापति टेकमणि न्यौपाने (विवेक), जनमुक्ति पार्टीका जिल्ला उपाध्यक्ष पुरन राई, जनता समाजवादी पार्टी नगर अध्यक्ष शंकर देवान, सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल र सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।