-ऋषि तिवारी
'ऊ गरीब छ । उसको बस्तीमा सबै गरीब छन् ।'
बिहान काममा निस्किन्छन, बेलुका एक प्याक दिन्छन् । प्याकको भुत चढ्दै गएपछि अलि अलि थप्छन् । प्याकको रिस नेता माथि ओकल्छन् । मानौँ त्यहा नशाको सुरले बिद्रोह ओकल्छ ।
भन्छन् । 'हामीले भोटमा जिताएको नेताले के गर्यो ? हाम्रो बस्ती अझै अविकास भो । पानीको बहाव अगेनीबाटै बगेको छ । न नाला न कुलो ?' ती जँड्याहाहरुले सत्य बोले जस्तो लाग्थ्यो । म उनीहरुकै साथ लागेर गाउँ जाने विचार गर्दै थिएँ । बजारमा किनमेल गर्दै गर्दा ढिला भैसकेको थियो । मलाई थाहा थियो । अरु गाउँलेहरु भट्टीमा हुन्छन् । एक प्याकको नाममा मातिन्छन् । उनीहरुको कुरो सुन्दा आनन्द लाग्थ्यो । अनि पिएपछि सत्यता बोले जस्तो आभास ।
'ओइ चन्द्रे पिउदैनस् ?' खडेले मलाई नशाको सुरमा भन्यो । मैंले भने, 'म पिउँदिन् ।' अर्कोले सुर ओकल्यो, 'पच्चीस बर्ष अघि यसले न पिएको हो र ? नामी थियो यो चन्द्रे जाड रक्सी पिउन । अहिले स्वास्नीको डरले पिउँन छोड्यो । एउटा कलम लिन्छ । डायरीमा कोर्छ साहित्य फुर्छ ।' मैले बहस गर्न आवश्यक ठानिनँ । मलाई साथ लिनु छ गाउँको दैलोमा आँखा टोलाइरहेकी पत्नीको प्रतीक्षामा सामेल हुनु छ । पिएक्कडहरुले यसमा पनि सत्य बोल्यो ।
खडेले इशारा गर्यो । नशाको उग्ररुपले कसैलाई सिध्याउँने । बुझें यीनीहरुको हल्का सत्य अब उग्ररुप हुदैछ । म भट्टीको एक कुनोमा थिएँ । बाहिर फुत्त निस्किएँ । हतासिएर निस्किदा, लामा दाईको साइकलमा ठोक्किएँ । 'ओहो चन्द्रे के भो ?' 'दाई यहाँ खडेहरुसंगै गाउँ जाउँला भनेको मातेर उधुम भैसकेका छन् । कसैलाई सिध्याउँने भन्छन् । मेरो मनमा चिसो पस्यो । म तपाईंकै साथमा गाउँ जाने ।' 'बस साइकलमा ।' साइकलमा पछाडी बसें । लामदाइको सुसेलीसंगै मपनि आफ्नै मुखमा सुसेली थप्दै गाउँको बाटो सोझिएँ । आज धन्न बाचेर गाउँ पुगियो । लामा दाइ, 'धन्यवाद ।'
वहांले भन्नु भो, 'समय खराब छ । भट्टीमा न छिर्नु । जँड्याहाको कुनै सत्यता हुदैन । बरु तिम्रो कलममा ताकत छ ।'
विराटनगर-६, ममता-मार्ग